कैलालीको घोडाघोडी नगरपालिकाका एक नक्कली सर्टिफिकेटधारी शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । पालिकाको वडा नम्बर २ मा रहेको दशरथ नमुना माध्यमिक विद्यालयमा अध्यापन गराएका शिक्षक महेश शाह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार मुद्दा दायर गरेको हो ।

उनले इन्टरमिडियटको नक्कली सर्टिफिकेट पेस गरी अध्यापन गराएको आरोपमा शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न भन्दै पहिले नै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । आफूले गरेको अनुसन्धानमा उनी माथि लागेको आरोप पुष्टि भएको आयोगले जनाएको छ । शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडियट एजुकेसन, यु.पी., राजकीय हुसेनावाद इन्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा प्रमाणित भएको आयोगको दाबी छ ।
उनले गरेको कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनुपर्ने मागदावी सहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ । उनी अहिले अध्यापन पेसामा भने छैनन् । श्रोतका अनुसार उनी विरुद्ध शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न उजुरी परे सँगै उनले राजीनामा दिएका थिए ।



