
मंगलबा भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् ।

दाहालले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । उनी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए ।
सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ सदस्य गरी ३८ जनाले पक्षमा मत दिए । यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिए ।
दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित भएका छन् । शर्माको विपक्षमा बहुमत सदस्यले मत व्यक्त गरेपछि प्रस्ताव अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार थिए । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको हो ।
आजको मतदानमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चा नेपालका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारलाई भोट दिएनन् ।
