कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको श्री सप्तश्री माध्यमिक विद्यालयले आयोजना गरेको प्रदर्शनी, सम्मान तथा वृहत् सांस्कृतिक कार्यक्रम–२०८२ शनिबार भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम विद्यालय शिक्षक–अभिभावक संघका अध्यक्ष रतन न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावत प्रमुख अतिथि रहेका थिए भने नगरपालिकाको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंह( उपसचिव) विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रमका अतिथिहरूमा घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक शिवप्रसाद ढकाल, प्राध्यापक डा. दीपकराज जोशी, दुर्गा ओझा, शंकर आचार्यलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा विद्यालयले शिक्षामार्फत समाजमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको थियो। सम्मानित हुनेहरूमा घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक शिवप्रसाद ढकाल, प्राध्यापक डा. दीपकराज जोशी, दुर्गा ओझा र शंकर आचार्य रहेका छन्। 
यस्तै विद्यालयका उत्कृष्ट शिक्षकको रूपमा शारदा भट्टराई सम्मानित भएका थिए ।
साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।
वर्ष विद्यार्थीको उपाधि दीपसना चौधरी (कक्षा ५) ले प्राप्त गरेकी छन् भने बहुप्रतिभा विद्यार्थीको उपाधि बिकेष शाही (कक्षा ७) लाई प्रदान गरिएको छ।
उत्कृष्ट खेलाडी पदक गणेश ऐर (कक्षा ९), अनुशासित विद्यार्थी गौरव भट्टराई (कक्षा ८), सरसफाइ पदक एन्जेल शाही (कक्षा ३), नियमित विद्यार्थी पदक सुरज ऐर (कक्षा ५), बौद्धिक विद्यार्थी पदक सौगात चौधरी (कक्षा ९), मेहनती विद्यार्थी पदक विशेष जोशी (कक्षा ६) तथा उत्कृष्ट चित्रकार विद्यार्थी पदक रेनिषा सिंह (कक्षा ७) ले प्राप्त गरेका छन्।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक नृत्य–गीत, विज्ञान प्रदर्शनी तथा अभिभावक सम्मान कार्यक्रमले उपस्थित अभिभावक तथा अतिथिहरूको ध्यान आकर्षित गरेको थियो। “शिक्षा परीक्षाका लागि मात्र नभई जीवनका लागि” भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको थियो। 

कार्यक्रमको सञ्चालन पत्रकार इन्दु केसीले गरेकी थिइन् । विद्यालयका प्रधानाध्यापक कलाधर चापागाईंका अनुसार कार्यक्रममा ५०० भन्दा बढी अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख खडकबहादुर रावतले पछिल्लो समय संस्थागत विद्यालयहरूले शिक्षाको गुणस्तर सुधार तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासका लागि गरिरहेका प्रयासको खुलेर प्रशंसा गरे।


