
गएराति सम्पन्न इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्सलाई २ रनले पराजित गरेको छ । हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनायो ।

पञ्जाबका लागि शशाङ्क शर्माले सर्वाधिक ४६ रन बनाए । आशुतोष शर्माले ३३ रन बनाए । यस्तै साम करन २९, सिकन्दर राजाले २८ रन जोडेका थिए ।
हैदराबादका भुवनेश्वर कुमारले २ तथा प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।
हैदराबादका लागि नितिश रेड्डीले ६४ रन बनाएका थिए । यस्तै अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन बनाए ।

पञ्जाबका आर्शदीप सिंहले एक्लैले ४ विकेट लिए ।
जितपछि ५ खेलमा ३ जित सहित हैदराबाद पाँचौँ स्थानमा छ भने ५ खेलमा २ खेल जितेको पञ्जाब छैठौँ स्थानमा छ ।
आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाईटन्स खेल्दैछन् । जयपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।