अछामको मेल्लेख गाउँपालिकामा कार्यरत जनस्वास्थ्य अधिकृत तथा पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत हिम्मत बुढाले सार्वजनिक बिदाको दिन समेत अग्रिम हाजिर देखाएर दुई दिन अगाडि नै धनगढी फर्किएको खुलेको छ।
स्रोतका अनुसार बुढा केही महिनादेखि नियमित रूपमा कार्यालय हाजिर थिएनन्। तर उनी पौष २७ गते एकाएक कार्यालयमा देखा परे र आफू कार्यालयमा उपस्थित नै नभएको अवधिदेखि पौष ३० गतेसम्मको हाजिर एकैचोटि अग्रिम रूपमा गरेका थिए। हाजिर गरेलगत्तै उनी पुनः धनगढी फर्किएका थिए।
तर पौष ३० गते सुदूरपश्चिम प्रदेशभर ‘जिता–मर्ना पर्व’ को अवसरमा सार्वजनिक बिदा रहेको विषयमा समेत उनले ध्यान नदिएको देखिएको छ। यसरी लामो समयदेखि अनुपस्थित रहेका बुढाले प्रदेश सरकारले तोकेको सार्वजनिक बिदाको दिनको समेत हाजिर गरेको तथ्य बाहिर आएको हो।
गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका बुढा सुदूरपश्चिम प्रदेशमा स्थानीय तह सञ्चालन ऐन जारी भएपछि उक्त पदबाट बाहिरिएका थिए। त्यसयता उनी श्रावण महिनादेखि निरन्तर रूपमा कार्यालयमा अनुपस्थित रहँदै आएका थिए।
स्थानीय सेवा ऐन संशोधन हुने चर्चा सुरु भएपछि बुढा करिब ६ महिनापछि एकाएक गाउँपालिकामा उपस्थित भई हाजिर गरेको स्रोतको दाबी छ। हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्ट उपसचिवमा बढुवा भइसकेकाले ऐन संशोधन भए आफू सबैभन्दा सिनियर कर्मचारी हुने र पुनः ‘हाकिम’ बन्ने दाउमा बुढा सक्रिय भएको बताइन्छ।
६ महिनासम्म बिदा स्वीकृति नलिई अनुपस्थित रहेका कर्मचारीले एकैपटक आएर हाजिर गर्नु र त्यसबारे गाउँपालिकाको नेतृत्व नै अनविज्ञ रहनु शंकास्पद विषय बनेको छ। लामो समयसम्म गयल रहेको भन्दै गाउँपालिकाले बुढाको तलब–भत्ता समेत रोक्का गरेको जनाइएको छ।
हतारमा हाजिर गरेर पुनः धनगढी फर्किएका बुढाको गतिविधिले मेल्लेख गाउँपालिकाभित्र हाजिर व्यवस्थापन, प्रशासनिक अनुशासन र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै बुढाले आफूले पटक–पटक बिदा स्वीकृतिका लागि निवेदन दिए पनि गाउँपालिकाले बिदा स्वीकृत नगरेको दाबी गरेका छन्। बिदा स्वीकृति नपाएकै कारण पौष २७ गते कार्यालय पुगेर अनुपस्थित दिनको समेत हाजिर गरेको उनले स्वीकार गरेका छन्।
“मैले हाकिम साहबसँग सल्लाह गरेरै हाजिर गरेको हुँ, यसमा मेरो गल्ती भयो,” बुढाले भने। यता प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।



