बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा “पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागि खेल” भन्ने मूल नाराका साथ शुक्रबारदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ।
कार्यक्रमको उद्घाटन बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कुँवरले खेलकुदले समुदायबीच सद्भाव र मेलमिलाप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
“यो खेल आपसी भेटघाट, विचार साटासाट र एकताको माध्यम बनेको छ। व्यवसायिक रूपमा फुटबल नखेल्नेहरूका लागि पनि यसले रमाइलो वातावरण सिर्जना गरेको छ,” उनले भने।
प्रतियोगितामा पत्रकार मञ्च, जनप्रतिनिधि, पालिकाका कर्मचारी, बौनिया बजारका व्यवसायी, प्रस्तावित कोटागढी बजारका व्यवसायी, सामुदायिक विद्यालय, संस्थागत विद्यालय र बर्दगोरिया यातायात प्रा.ली. गरी ८ टिमको सहभागिता रहेको छ।
शुक्रबार भएको पहिलो खेलमा आयोजक बर्दगोरिया पत्रकार मञ्चले जनप्रतिनिधि टिमलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
त्यसैगरी दोस्रो खेलमा सामुदायिक विद्यालय टिमले पालिका कर्मचारीलाई २–० गोलले हरायो भने, तेस्रो खेलमा प्रस्तावित कोटागढी बजार टिमले बर्दगोरिया यातायातलाई २–१ गोल अन्तरले जित हात पार्यो।
शनिवार बिहान बौनिया बजार र संस्थागत विद्यालयबीच प्रतिस्पर्धा हुने भएको छ भने अर्को खेलमा प्रस्तावित कोटागढी बजार र सामुदायिक विद्यालय आमनेसामने हुने आयोजक मञ्चका अध्यक्ष कृष्णप्रसाद ओझाले जानकारी दिए।
अध्यक्ष ओझाका अनुसार बर्दगोरिया पत्रकार मञ्चले हरेक वर्ष मनोरञ्जन र सद्भावका उद्देश्यले गैर–व्यावसायिक खेलाडीहरूबीच प्रतियोगिता गर्दै आएको छ।
“यो हाम्रो तेस्रो संस्करण हो। व्यवसायिक खेलाडी बाहेकका सहभागीलाई अवसर दिई सद्भाव र एकताको सन्देश फैलाउने हाम्रो उद्देश्य हो,” ओझाले बताए।


