सुशील ढुङ्गाना
कैलाली
सुदूरपश्चिम ट्राफिक प्रहरीका एसपी नेत्रमणी गिरीको सुदूरपश्चिमको बसाई सकिनै लाग्दा अवैध रकम असुलीलाई तीव्रता दिएको गुनासो बढ्दै गएको छ । एक वर्ष अघि ट्राफिक प्रहरीको कमाण्ड समाल्न सुदूरपश्चिम आएका एसपी गिरीको सरुवाको समय हुनै लाग्दा रकम असुलीलाई तीव्र पारेको गुनासो बढ्दै गएको हो । सडक अनुशासन कायम गर्न भन्दै क्षेत्रीय ट्राफिक प्रहरीले सुपका नौ वटै जिल्लामा करिब ५५ वटा युनिट मार्फत ट्राफिक प्रहरी सडकमा उतार्ने गरेको छ । तर सडक अनुशासन कायम गर्न चेतना फैलाउने भन्दा पनि साँघुरा सडक,पुलको छेउछाउ , जङ्गल किनारमा बसेर विभिन्न सवारी साधनलाई आफ्नो फन्दामा पार्ने गरेका छन् ।
ट्राफिक प्रहरीको सबैभन्दा बढी सास्ती पूर्वपश्चिम राजमार्गमा खेप्नु परेको जनताको गुनासो छ । कुनै कुनै स्थानमा त पाँच सय मिटरको दुरीमा समेत बसेर चेक जाँचका नाममा अनावश्यक दुःख दिने गरेको गुनासो छ । ट्राफिक पहरीको फितलो व्यवस्थापनका कारण नेपालका सवारी साधन मात्र नभएर भारतबाट आएका सवारी साधन समेत समस्यामा पर्ने गरेका छन् । सीमा क्षेत्रबाट आउने भारतीय सवारी साधनलाई सीमा नाकामा नेपाल प्रवेश गर्दा आवश्यक कागजातका बारेमा जानकारी नगराउँदा आठ दश वटा ट्राफिक युनिट कटेपछि भारतीय सवारी साधन रोकेर रकम असुली गर्ने गरेको पाइएको छ । सडक अनुशासन कायम गराउने नाममा ट्राफिक प्रहरीले गरेको असुली धन्दा तत्काल रोक्नुपर्ने आवाज उठ्न थालेको छ । ट्राफिक प्रहरीले खास गरेर राजमार्गमा गुड्ने सवारी साधनहरूमा दुई खाले नियम लगाएको पाइएको छ । जसले महिनावारी पैसा बुझाउँछ उसले सडक अनुशासन उलङ्घन गरे पनि वास्ता नगर्ने र जसले उनीहरूलाई नियमित रकम दिँदैन विभिन्न बाहाना बनाएर जरिवानाका नाममा रकम असुल गर्दै आएका छन् । सडक अनुशासन उलङ्घन गरेका सवारीसाधनलाई जरिवाना काटेर गल्तीलाई प्रोत्साहन ट्राफिक प्रहरीले गर्दै आएको छ ।
पछिल्लो समयमा ट्याक्टरमा हुने ओभर लोडलाई ट्राफिक प्रहरीले नै प्रोत्साहन गर्ने गरेको छ । उनीहरू सँग मासिक रकम लिने भएकाले ओभर लोड हुँदा पनि रोक्दैन तर उनीहरूलाई नियमित रकम नदिने सवारी साधनलाई भने रोक्दै अनावश्यक दुःख दिने गरेको बुझिएको छ । ट्याक्टरमा ओभर लोड ढुङ्गाका कारण सडक दुर्घटनाको खतरा बढी भए पनि ट्राफिक प्रहरीको संरक्षणले उनीहरूले गल्ती दोहोर्याई रहेको दृष्य राजमार्गमा दैनिक देख्न पाइन्छ ।
सडक अनुशासन उलङ्घन गरेको बारेमा सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका एसपी गिरीलाई बारम्बार जानकारी गराउँदा समेत नियन्त्रणका बारेमा चासो नदिएको गुनासो छ । कहियौँ पटक ट्याक्टरबाट ढुङ्गा खसेर दुर्घटना हुँदा समेत रोक्ने प्रयास नहुनुलाई स्थानीयहरूले गम्भीर रूपमा लिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा रहेका ११ वटा स्थायी र ४४ वटा अस्थायी गरी ५५ वटा ट्राफिक कार्यालय तथा पोष्टहरु मध्ये ९० प्रतिशत युनिटहरूबाट गिरीले मासिक रकम बुझ्दै आएको स्रोतको दावी छ । ट्राफिक प्रहरी उपरीक्षक गिरीलाई रकम बुझाउनैको लागी मातहतका विभिन्न युनिट प्रमुखहरूले ट्रक, बस, ट्याक्टर, भाडाका जिप, अटो रिक्सा, विद्युतीय रिक्सा, भारतीय नम्बर प्लेटका गाडीहरूबाट मासिक रूपमा रकम बुझ्दै आएको ट्राफिक प्रहरी कै स्रोतले बताएको छ ।
मासिक रूपमै ट्राफिक प्रहरीले तोकेको रकम दिएमा सहजै सडकमा चल्न दिने र नदिनेलाई अनेक बहानामा दुःख दिने गरेको एक ट्याक्टर चालकले बताए । आफ्नो साहुका ६ वटा ट्याक्टर रहेको र प्रति ट्याक्टरबाट दुई हजारका दरले ट्राफिक प्रहरीलाई रकम बुझाउँदै आएको उनको भनाई छ । यस्तै ट्याक्टरबाट मासिक एक हजार पाँच सय देखि दुई हजार सम्म, बसबाट दुरीको हिसाबले प्रति ट्रिपको दुई सय देखि दुई हजारसम्म, नेपालबाट चल्ने भारतीय नम्बर प्लेटका ट्याक्सीबाट मासिक एक हजार, रुपप्रमिट नभएका पहाडी सडकमा चल्ने जिपहरूबाट मासिक दुई हजार ट्राफिक प्रहरीले उठाउँदै आएको छ ।
यता सुदूरपश्चिम ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीले भने ट्राफिक प्रहरीले कुनै पनि रकम असुल नगरेको दावी गरे।