
दार्चुला : सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट एक थुनुवा कार्यालयको पछाडिबाट हाफ फालेर भागेका छन् । हाम फालेर महाकाली नगरपालिका १ दहका २३ वर्षीय उमेश कुँवर महाकालीमा पौडी खेलेर भारततिर पुगेका थिए ।

त्यसपछि महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले उनीलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ ।
तर, कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका एक जवान भिरबाट खसेका छन् । खसेर गम्भिर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
गत माघ ७ गते ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि चक्कु प्रहार गरेका कुँवरलाई फागुन २२ गते नियन्त्रणमा लिएको थियो । आफ्नै श्रीमती धनिषालाई बन्धक बनाएको उजुरीपछि सोधपुछका लागि जाने क्रममा उनले प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका थिए ।
कुँवरविरुद्ध प्रहरीले अपहरण तथा बन्धकी, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।
