डोटीको बडीकेदार गाउँपालिकाका अधिकांश किसानहरु पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाको वडा नं. १, २, ४ र ५ मा सुन्तला खेती अधिक मात्रामा हुने गरेको छ ।

गत वर्ष तीन ओटा गाउँका ३२/३३ घरबाट करिव ८० लाखको सुन्तला विक्री गरेकोमा यस वर्ष त्यो भन्दा पनि बढी विक्री गरिएको अनुमान किसानले गरेका छन् । गत वर्ष ८ लाखको सुन्तला विक्री गरेका बडीकेदार गाउँपालिका-४ टिमुट्टका चक्र विठारीले यस वर्ष १० लाख बराबरको सन्तला विक्री गरेका छन् । गाउँघरमा नै प्रयाप्त मात्रामा आर्थिक भित्र्याउन सकिने भएकाले यतै परिश्रम गर्दा विदेश जान नपर्ने उनको भनाई छ ।
विगत ५, ६ वर्षदेखि सुन्तला खेती गर्दै आएका विठारी सिँचाईको मात्रै असुविधा रहेको गुनासो पोख्छन् । ‘सरकारले किसानका लागि केही पनि गरिदिँदैन्,’ उनी भन्छन्, ‘सिँचाइको समस्या निकै छ । किसान एक्लैले सिँचाईको व्यवस्था गर्न सक्ने स्थिति पनि रहँदैन्, सरकारले त्यसतर्फ ध्यान दिने हो भने थोपा सिँचाईको व्यवस्था भए यो भन्दा पनि राम्रो सुन्तला उत्पादन हुन्छ ।’
विठारी जस्तै सुन्तला खेतीमा लागेका छन् वडा नं. २ का तारा सिंह मटेली । उनले पनि यस पटक ८ लाखको हाराहारीमा सुन्तला विक्री गरेका छन् । उनको गुनासो पनि विठारीकै जस्तो छ । सिँचाइ नहँुदा सन्तला खेती गर्न कठिन स्थिति सिर्जना हुने अवस्था आउन लागको उनको भनाई छ ।
त्यस ठाउँका हर किसानले न्युनतम ५० हजारको सुन्तला त यो वर्ष सबैले विक्री गरेको उनीहरु बताउँछन् । सबैले आफ्नो बारीमा ३, ४ सय बुटा सुन्तला रोपेका छन् । विदेश गर्ने दुःख गाउँमै गर्ने सोच बनाएको उनीहरु सुनाउँछन् । विगतमा १० वर्ष भारतका विभिन्न सहरमा विताएर फर्केका वडा नं.४ नुवाकोटका वीर बहादुर ताडी पनि अचेत सुन्तला खेतीमा व्यस्त देखिन्छन् । भारतमा गरेको दुःख नेपालमै गरे यही राम्रो पैँसा कमाउन सकिने उनको भनाई छ । उनी जस्तै गाउँमा सबै सुन्तला खेतीतर्फ आकर्षित भएका छन् ।
जिल्लामा यस वर्ष ८ करोडको सुन्तला उत्पादन
जिल्लाभरिमै यो वर्ष ८ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । यस पटक जिल्लामा ३ हजार ४ सय ८ दशमलव ६२ मेट्रिक टन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रले जनाएको हो । यस वर्ष २ सय ६२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा सुन्तला उत्पादन २ हजार ९ सय ३२ मेट्रिक टन रहेको थियो भने आ.व २०७९/८० मा उत्पादन बढेर ३ हजार २ सय ४० मेट्रिक टन पुगेको ज्ञान केन्द्रले उल्लेख गरेको छ ।

जेरायल गाउँपालिका-५ र ६, बोगटान गाउँपालिका-१, २, ७ र बडीकेदार गाउँपालिका-१ पातल मुडा रजेडा, वडा नम्बर २ को छेडा, कोटक्यान्या, वडा नम्बर ४ को खेताली टिमुट्ट, रनुकाँडा, पुन्तडा र वडा नम्बर ५ को लानाका बस्तीमा सुन्तला खेती विस्तारको सम्भावना रहेको केन्द्रले जनाएको छ । डोटीमा उत्पादित अधिकांश सुन्तला अत्तरिया, धनगढी, महेन्द्रनगर, नेपालगञ्जका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका किसान बताउँछन् ।
सुन्तला उत्पादनको हिसाबले डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिका बढी प्रख्यात मानिएको छ । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

