टीकापुर : कैलालीको टीकापुरमा छाडा पशुचौपायाले हैरानी दिँदा किसानले आफ्ना खेतबारी बाँझै राख्ने स्थिति सिर्जना भएको छ। नगरपालिका-२ की सरिता घर्तीमगरसँग १० कट्ठा जमिन छ। त्यही जग्गामा खेतीपाती गरी गुजारा गर्दै आएकी सरिताले यसपालि हिउँदे खेती लगाउन नपाउँदा खेत बाँझै रह्यो।

छाडा पशुचौपायाको सास्तीले उनले खेती नलगाएकी हुन। हिउँदे खेती नलगाउँदा अहिले उनले २० हजारको गहुँ खरिद गर्नु परेको छ। ‘आफ्नो जग्गा बाँझो राखेर अरुबाट खाद्यान्न किन्नुपरेको छ। यो सबै छाडा पशुचौपायाका कारण भएको हो’, उनले भने, ‘खेती लगायो भने चौपायालाई ठिक्क हुन्छ।’
त्यस्तैमा केरा खेती गर्दै आएका चक्रबहादुर घर्तीमगरले कृषि पेसाबाट किसानले उत्पादन गरे पनि छाडा चौपायका कारण वर्षेनी खेतीयोग्य जमिन खाली हुने अवस्थामा पुगेको बताए। चौपाया व्यवस्थापन नभएसम्म कृषकको लगानी खेर जाने उनको भनाइ छ।
टोल विकास संस्थाकी अध्यक्ष मायादेवी सोनाहाले अरूको जग्गा भाडामा लिएर कृषि गर्दै आएकी छन्। उनको परिवार नै कृषिमा आश्रित छ। व्यावसायिक कृषि गर्दै आएकी उनी पनि छाडा पशुचौपायाले कृषि पेसाबाट विस्थापित हुने अवस्थामा पुगेकी छन्। ‘दुनियाँका चौपाया ल्याएर हाम्रो वडामा व्यवस्थापन गरिएको छ। त्यो नामको मात्रै व्यवस्थापन हुँदा किसानले खेती गर्न छोडेका छन्’, मायादेवीले भनिन, ‘यदि गौशाला व्यवस्थापन गर्न सक्यो भने कृषिमा ठूलो सम्भावना छ।’
टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्दै आएको छ। गौशाला आसपासका किसानलाई गौशालाबाट आउने चौपायाले हैरान बनाएको छ। जुन गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका करिब एक हजारभन्दा बढी चौपाया व्यवस्थापन गरिएको छ।



