घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा जारी मदन भण्डारी कप जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्ट्स एकेडेमी भजनी नगर कमिटीले हात पारेको छ।
सोमबार सम्पन्न फाइनल खेलमा भजनीले घोडाघोडी क्लब सुखडलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। पहिलो हाफमा गोलरहित खेल भए पनि दोस्रो हाफमा भजनीका खेलाडीहरूले लगातार तीन गोल गर्दै जित दर्ता गरे ।
विजेता बनेको मदन भण्डारी स्पोर्ट्स एकेडेमी भजनीले ५२ हजार २सय ५० रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता घोडाघोडी क्लब सुखडले ३२ हजार २५० रुपैयाँमा चित्त बुझाएको छ ।
समापन समारोहका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत रहेका थिए। विशिष्ट अतिथिमा घोडाघोडी नगरपालिकाका संस्थापक नगरप्रमुख तथा नेकपा एमाले कैलाली जिल्ला सचिव ममताप्रसाद चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष हरिशचन्द्र शाह लगायतको उपस्थिति थियो।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमी, संघसंस्था र नागरिकको उत्साहपूर्ण सहभागिता रहेको थियो। समापन समारोहमा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान तथा कदरपत्र वितरण गरिएको थियो।


विगतका वर्षहरूमा केही विवाद देखिने गरे पनि यस वर्ष मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा प्रतियोगिता शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।


