टी २० विश्वकपको तयारी स्वरुप भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा एसएमएस फ्रेन्डसिप कप २०२४ को उपाधि हात पारेको छ। आइतबार गुजरातमा भएको फाइनलमा घरेलु टोलीलाई १८ रनले पाखा लगाउँदै नेपालले उपाधि चुमेको हो।
आईसीसी विश्वकप २०२४ को तयारीका लागि भारतको गुजारतमा नेपालले भारतको स्टेट टोली गुजरात र बरोडासँग टी २० सिरिज खेलेको हो । लगातार तीन खेल जितेको नेपालले गुजरातलाई दुवै खेलमा पराजित गर्दा बरोडाविरुद्धको अन्तिम खेलमा भने पराजित हुन् पुगेको थियो।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकमा ४ विकेटको क्षतिमा १ सय ७६ रनकाे चुनौतीपूर्ण आँकडा तयार गरेको थियो ।
४७ रनको समान गरेका कप्तान पौडेलले ५ चौका र ४ छक्काकाे मद्दतमा ७४ रनको योगदान गरेका थिए । ओपनरद्वय कुशल भुर्तेलले १९ र आसिफ शेखले ३४ रन बनाएका थिए ।
यस्तै दीपेन्द्रसिंह ऐरी ७ रनमा पेभिलियनकाे बाटो फर्किंदा कुशल मल्लले १३ बलमा २ चौका र २ छक्काकाे सहयोगमा
अविजित ३१ रन जोडे । यस्तै सन्दीप जोराले ३ बल खेल्दा १ चौका प्रहार गर्दै ७ रनमा अविजित रहेका थिए ।
१ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेटको क्षतिमा १ सय ५८ रन मात्रै जोड्न सक्यो ।
गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४० रन जोड्दा ओपनरद्वय रुद्र पटेलले १७ रन र आर्या देसाइले ३६ रन जोडे।
बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए । यस्तै दीपेन्द्रसिंह ऐरीले एक रनआउट सहित २ विकेट लिए।
अब नेपाली टोलीले भारतबाटै एसीसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम रहेको छ। टी २० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ।
जसको तयारीका लागि नेपाली टोली निकै व्यस्त रहेको छ ।