पत्रकारिता पेसालाई मर्यादित, विश्वसनीय र नागरिकहरू सँग पत्रकारहरूको सम्बन्ध सुमधुर बनाउन नेपाल पत्रकार महासङ्घ कैलालीले बुधवार धनगढीमा नागरिकहरू सँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा मानव अधिकार आयोग, इन्सेक, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, खेलकुद क्षेत्रका प्रतिनिधि, यातायात, श्रमिक वर्ग, निजी विद्यालय, स्वास्थ्य, गैरसरकारी संस्था, नागरिक अगुवा, अधिकारकर्मी, पत्रकार, समाजसेवी, युवा तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नागरिक तथा पत्रकारहरूले सुधार गर्नुपर्ने पक्षका बारेमा चर्चा गरेका थिए । पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवाले सुझाव मात्रै नभई चिया, चौतारामा गरिने पत्रकारको चर्चा र नकारात्मक टिप्पणीका विषयमा खुलेर बोल्न आग्रह गरेपछि सहभागी नागरिकहरूलाई झन् सहज भएको थियो । सहभागी नागरिकहरूले समाचारका सवालमा कतिपय पत्रकारहरूले गहन अध्ययन गर्न छाडेको, न्युज भन्दा भ्युजमा बढी जोड दिएको, ब्रेकिङका नाममा अपुष्ट सूचना दिएर समाजमा त्रास सृजना गरेको, पत्रकार आचारसंहिता पूर्ण पालना नगरेको, नागरिक पत्रकारिता मौलाएको, विज्ञापनलाई समाचार बनाउने प्रवृत्ति बढेको, अहिलेको पत्रकारिता जनतामुखी भन्दा पनि सत्ता र शक्तिमुखी बनेको बताएका थिए । साथै उनीहरूले सञ्चार जगत् लोकतन्त्रको आधारशिला भएकाले मिडिया जोगाउन नागरिक समाजहरूबाट पनि सहयोग नभएको उल्ले गरे । समाचार लेखिदियोस् भन्ने अपेक्षा राख्ने तर विज्ञापन भन्नासाथ मुन्टो बटार्ने प्रवृत्ति रहेकाले यसमा सुधार गर्नुपर्ने कुरामा समेत सहभागीहरूले जोड दिए ।

यस्तै कार्यक्रममा सहभागी पत्रकारहरूले सामाजिक सञ्जालमा आउने सबै विषयहरू समाचार नहुने भएकाले नागरिकले समाचार बुझ्नु पर्ने बताए । मौलाउँदो नागरिक पत्रकारिताले समाजमा त्रास सृजना गरेको, स्पष्ट सूचना र तथ्य विना भ्युज बटुल्ने प्रवृत्ति रहेको, समाचारका लागी नागरिकहरूले पत्रकारलाई सूचना दिँदा अपुष्ट सूचना दिने गरेको, मिडिया जोगाउने सवालमा सहयोग नभएको र गल्ती गर्ने पत्रकारको नाम नै उल्लेख गर्नु पर्नेमा सबै पत्रकार उस्तै हुन भन्ने अभिव्यक्तिले लोकतन्त्रको जग कमजोर हुने देखिएको उल्लेख गरे ।
“सबै पत्रकारलाई एउटै दृष्टिकोणबाट हेरिनु हुँदैन । राम्रो गर्नेहरू पनि छन् र नराम्रो गर्नेहरू पनि हुन सक्छन् । कुनै पत्रकारले गल्ती गरेको भए नामै किटान गर्नु हुन आग्रह गर्दछु । सबै पत्रकार यस्तै हुन भन्नु भनेको लोकतन्त्र माथिको प्रहार हो ।” महासङ्घ कैलाली अध्यक्ष श्रवण देउवाले भने । नागरिकहरूले तथ्य, स्पष्टता र सत्यता बिनै कसैलाई आरोप लगाएर, कसैमाथि आक्रोश पोखेर वा सस्तो लोकप्रियताका लागी सामाजिक सञ्जालमा आएका स्टाटसहरुलाई पनि समाचार हुन भनेर बुझ्ने र सोही अनुसार पत्रकारमाथि धारणा बनाउने समस्या देखिएकाले अब नागरिक चनाखो बन्नु पर्ने समेत उनले उल्लेख गरे ।

महासङ्घ कैलालीले पत्रकारिता पेसालाई मर्यादित बनाउन, देखिएका समस्या र द्विविधा हटाउन, नागरिक सँग सम्बन्ध प्रगाढ बनाउन हरेक महिना यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने कार्य योजना बनाएको छ । बुधवार सम्पन्न कार्यक्रमको संयोजन तथा व्यवस्थापन महासङ्घ सदस्य दिनेश विष्टले गरेका थिए । उनले कार्यक्रममा पत्रकार र नागरिक बिचको वर्तमान सम्बन्ध, आवश्यकता, समस्या तथा चुनौतीका विषयमा प्रस्तुतीकरण समेत गरेका थिए । महासङ्घ अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा महासङ्घ उपाध्यक्ष बिराज रोस्याराले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव तेजराज भट्टले गरेका थिए ।



