कैलाली : कैलाली जिल्लाको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अलपत्र जस्तै भएको छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिएको छ । तर उक्त योजनाका लागि जग्गा उपलब्ध नहुँदा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जानकारी दिएकोे छ ।
यो चालु आर्थिक वर्षमा मात्रै नभई ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५ करोड विनियोजन गरिएको थियो । तर भवन बनाउनका लागि जग्गा प्राप्त हुन नसक्दा उक्त रकम ‘फ्रिज’ भएको थियो ।
सो कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले लम्कीमा प्राथमिक ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्राप्त हुन नसक्दा ठेक्का प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिएका छन् । उनले लम्कीमा ५० श्ययाको ट्रमा सेन्टर निर्माणका लागि चालु आव ०८०÷८१ मा बहुवर्षीय योजनाअन्तर्गत ५ करोड बजेट बजेट विनियोजन गरिएको बताए ।
कलौनीले जग्गाको सुनिश्चितता गर्न स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकालाई आग्र्रह गर्दै आएको पनि जानकारी दिएका हुन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत चिसापानी–लम्की खण्डमा अत्यधिक दुर्घटना हुने र घाइतेले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने गरेको छ ।
ट्रमा सेन्टर नहुँदा सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिक नेपालगञ्ज तथा भारत जानुपर्ने बाध्यता रहेको छ । यसैगरी सेती प्रादेशिक अस्पतालको आकस्मिक सेवा भवन निर्माणका लागि जग्गाको टुङ्गो लाग्न सकेको छैन् । भवन निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गाको टुङ्गो नलाग्दा भवन निर्माणको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ ।