
कैलालीको चिसापानी-कुइने सडक निर्माणको माग सहित स्थानीय नेत्र भण्डारीले थालेको अनसन स्थगन गरिएको छ । सो सडक निर्माणका लागि दुई वर्ष अघि ठेक्का सम्झौता गरिएको भएपनी अझै काम सुरु नभएको भन्दै भण्डारीले गत बुधबार कर्णाली पुलमा अनसन सुरु गरेका थिए ।


उनका अनुसार सो सडक खण्डमा पर्ने ४ सय ७२ वटा रुखहरु कटानका लागि मन्त्रीपरिषदले निर्णय गरे पनि वन बिभागले निर्णय कार्यान्वयन गर्न मानेको थिएन । अनसन सुरु भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह सहितका नेता संग भएको छलफलमा वन बिभागले रुख कटान आदेश दिने बताएपछि अनसन स्थगित गरिएको भण्डारीले जानकारी दिए ।
“अब २/३ गते रुख कटान आदेश आउने र सम्झौता पनि हुने आवश्वासन पाएको छु । मुख्यमन्त्री ज्युले जिम्मा लिन्छु भन्नू भएको छ । तोकिएको समय भित्र रुख कटान आदेश आएन भने फेरि फरक ढंगले आन्दोलन सुरु हुन्छ ।” भण्डारीले भने ।

१२ करोड ८० लाख लागतमा ७.२ किलोमिटर सडक कालोपत्रेका लागि दिव्यज्योती–शाही जेभीले २०७९ साउन ३ गते ठेक्का सम्झौता गरेको थियो । सडक निर्माणको म्याद आउदो असारमा सकिदै छ तर रुख कटान आदेश नपाउदा काम भने अलपत्र अवस्थामा छ ।



