समाचार सारांश
- • पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले आज आफ्नो मौलिक पर्व ‘अटवारी’ विशेष आस्था र हर्षोल्लासका साथ मनाउँदैछन् ।
- • थारु समुदायको महान् पर्व माघी पछिको दोस्रो ठूलो पर्वको रूपमा लिइने अटवारी, विशेष गरी पुरुषहरूले निराहार व्रत बसेर मनाउने महत्वपूर्ण पर्व हो ।
- • यो पर्व हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार मनाइने गरिन्छ ।
पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले आज आफ्नो मौलिक पर्व ‘अटवारी’ विशेष आस्था र हर्षोल्लासका साथ मनाउँदैछन् । थारु समुदायको महान् पर्व माघी पछिको दोस्रो ठूलो पर्वको रूपमा लिइने अटवारी, विशेष गरी पुरुषहरूले निराहार व्रत बसेर मनाउने महत्वपूर्ण पर्व हो । कुनै महिलाहरु पनि स्वइच्छाले वर्त बस्ने गर्दछन् ।
यो पर्व हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार मनाइने गरिन्छ । आइतबार मनाइने हुनाले यो पर्वलाई ‘अटवारी’ भनिएको हो । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ ।
यो पर्वको धार्मिक,सामाजिक र सांस्कृतिक महत्व छ । अटवारी पर्वको धार्मिक महत्व महाभारतको कथासँग जोडिएको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरी बताउनुहुन्छ ।
थारु समुदायमा पाण्डव पुत्र भीमलाई वीरता र शक्तिको प्रतीकको रूपमा पुज्ने गरिन्छ । धार्मिक मान्यताअनुसार, पाण्डवहरू अज्ञातवासमा रहँदा भीमले आफ्ना दाजुभाइ र परिवारको रक्षाका लागि आइतबारको दिन पानी समेत नपिई निराहार व्रत बसेका थिए । त्यही व्रतको प्रभावले उनले अपार शक्ति प्राप्त गरेको विश्वास गरिन्छ । सोही किवदन्ती अनुसार व्रत बस्दै अटवारी पर्व मनाउने प्रचलन रहेको अध्यक्ष चौधरीले बताउनु भयो । यस पर्वमा सूर्यको पनि विशेष पूजा गरिन्छ ।
अटवारी पर्वको तयारी स्वरूप व्रतालुहरूले शनिबार राति खाना खाने चलन छ, जसलाई ‘भन्सरीया भात’ भनिन्छ । नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष चौधरीका अनुसार, आइतबार बिहानैदेखि व्रतालुहरू पानी समेत नपिई निराहार व्रत बस्छन्। व्रत बसेको दिन स्नान गरी पूजापाठ गर्ने चलन छ ।
पूजापछि विभिन्न मौलिक परिकारहरू पकाइन्छ । जसमा अन्दीको चामलको रोटी अनिवार्य हुन्छ । त्यसैगरी फुलौरी, केरा, काँक्रो, अम्बा, दही र गेडागुडी जस्ता खानेकुराहरू पकाइने गरेको अध्यक्ष चौधरी बताउनुहुन्छ ।
यस पर्वको सबैभन्दा विशिष्ट सांस्कृतिक पक्ष ‘अग्रासन’ हो । व्रत खोल्नुअघि तयार पारिएका सबै परिकारबाट एक–एक भाग छुट्याएर आफ्ना विवाहित तथा अविवाहित दिदीबहिनीका लागि राख्ने गरिन्छ । यही छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अध्यक्ष चौधरीले भन्नुभयो, “अग्रासन नछुट्याएसम्म व्रतालुले केही पनि खाँदैनन् । यो दिदीबहिनीप्रतिको अगाध स्नेह र सम्मानको प्रतीक हो ।”
पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै व्रतालुहरूले पुनः स्नान गरी पूजा गर्छन्। सोमवार पुजा आजा गरेपछि व्रत खोलिन्छ । त्यसपछि, दाजुभाइहरूले आफ्ना दिदीबहिनीका लागि छुट्याइएको ‘अग्रासन’ र अन्य कोसेली लिएर उनीहरूको घर पुग्छन्। दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिन्छन् र दाजुभाइले ल्याएको प्रसाद ग्रहण गर्छन्। यसले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास रहेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका सचिव अमन चौधरीले बताउनुभयो ।
अटवारी पर्वले थारु समुदायमा सामाजिक एकता र पारिवारिक सम्बन्धलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको सचिव चौधरीले बताउनुभयो ।
यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत र दाङलगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।
पर्वको महत्वलाई सम्मान गर्दै सुदूरपश्चिम प्रदेश सरकारले आज (भदौ ८ गते) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसअघि, प्रदेश सरकारले अटवारी पर्वको अवसरमा साउन २५ गते बिदा दिने निर्णय गरेको थियो । तर तिथि फरक परेकाले थारु समुदायको आग्रहमा बिदाको मिति संशोधन गरिएको हो ।



