कैलालीमा घोडाघोडी नगरपालिका स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा जिल्लाको उत्कृष्ट नगरपालिका घोषित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको अन्तिम नतिजा अनुसार घोडाघोडी नगरपालिकाले विभिन्न सूचकमा ८५ दशमलव ५० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
नगरपालिकाले शासकीय प्रबन्धमा ९.५, संगठन तथा सेवा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ९.७५, सेवा प्रवाहमा १२ अंक पाएको छ। त्यस्तै, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०.५०, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ९ र सहकार्य तथा समन्वयमा ४.७५ अंक पाएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा पनि घोडाघोडी नगरपालिका ८३.५० अंकसहित जिल्लामा प्रथम भएको थियो।
यसपटक धनगढी उपमहानगरपालिका ८४ अंकसहित दोस्रो भएको छ भने गोदावरी नगरपालिका र चुरे गाउँपालिका समान ८१ अंकसहित तेस्रो भएका छन्।
१३ वटा स्थानीय तह रहेको कैलालीमा अन्य पालिकाले पाएको अंक यसप्रकार छः
बर्दगोरिया गाउँपालिका : ७९.२५
जानकी गाउँपालिका : ७७.७५
गौरीगंगा नगरपालिका : ७५.७५
भजनी नगरपालिका र कैलारी गाउँपालिका : ७१.७५
जोशीपुर गाउँपालिका र टिकापुर नगरपालिका : ७०.७५
लम्कीचुहा नगरपालिका : ६५
मोहन्याल गाउँपालिका : ५५.५०
मन्त्रालयका अनुसार स्वमूल्याङ्कनले स्थानीय तहको कार्य प्रक्रियाको लेखाजोखा गर्न, उपलब्धि नाप्न, सुधारका क्षेत्र पहिचान गर्न र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धा जागृत गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ।




