
काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ ।

अहिले काठमाण्डौसहित बाग्मती, कोशी प्रदेशका पहाडी भेगमा पानी परिरहेकाे छ । केही भागमा चट्याङसहितको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् । अहिले ठूलै पानी परे पनि राति भने कम वर्षा हुने उहाँले बताएका छन् ।
भोलि दिउँसो पनि वर्षाको सम्भावना रहेको छ । अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले प्रि–मनसुन फेरि शुरु भएको देखिएको मौसमविद् प्रधानाङ्गले जानकारी दिए । केही दिनयता काठमाण्डौमा बढेको वायु प्रदूषण पानी परेपछि कम हुँदै जाने उहाँले जानकारी गराए । यस्तै डढेलो पनि वर्षाले निभाएको छ ।
वर्षा नहुँदा मङ्गलवार र बुधवार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाण्डाै विश्वकै पहिलो प्रदूषित शहर बनेकाे थियाे । ‘एअर क्वालिटी इन्डेक्स’ का अनुसार बुधवार दिउँसो वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ सम्म पुगेकाे थियाे ।
