नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले प्रेस चौतारीका सक्रियता लोभलाग्दो रहेको बताएका छन् । प्रेस चौतारी नेपालले ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बुधवार कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले पछिल्लो समय प्रेस चौतारीका गतिविधिहरू सङ्गठन र पत्रकारका लागी मात्र नभई आम नागरिकका लागी समेत महत्त्वपूर्ण भएको उल्लेख गरे । “वातावरण जोगाउन वृक्षारोपण गर्नु पनि सामाजिक उत्तरदायित्वको काम हो । केही महिना अघि प्रेस चौतारीले परम्परागत रूपमा होली पर्व मनाएर संस्कृति संरक्षणको पाटोमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । अझ सबै भन्दा महत्त्वपूर्ण कुरा त प्रेस चौतारीले नै पत्रकार अक्षयकोष स्थापनाको थालनी गरेको सुनेको छु । यो आम पत्रकारका लागी अत्यावश्यक र प्रशंसनीय कार्य हो । यसमा मेरो तर्फबाट सक्दो सहयोग हुन्छ । अन्य सबै सबैलाई पनि यो पवित्र काममा सहकार्य गर्दिनका लागी पनि अनुरोध गर्दछु ।” उनले भने ।
पत्रकारका हकहित संरक्षण तथा श्रमजीवी पत्रकारका पक्षमा प्रेस चौतारी नेपाल अग्र मोर्चाका रूपमा उभिनु पर्ने समेत उनले बताए । आफू पनि सञ्चार उद्यमी भएकाले सञ्चार गृहका समस्या अवगत भएको भन्दै सञ्चार गृहलाई जोगाउने, पत्रकार उत्पादन गर्ने, रोजगारी सृजना गर्ने लगायतका सवालमा पनि पत्रकारका सङ्घ सङ्गठनहरू एकबद्ध र योजनाबद्ध भएर लागि पर्नु पर्ने उनको धारणा छ ।




