कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाले कृषिमा लगानी गर्न थालेको छ । यसका लागी जिल्लाको गोदावरी नगरपालिका–८ मझगाँँउमा डेढ बिघा जग्गा खरिद गरेको छ भने आफ्नै राइसमिल समेत सञ्चालनमा ल्याएको छ ।

सुदूरपश्चिमकै ठुलो सहकारी रूपमा काम गरिरहेको नवजीवनले ५ सय टन क्षमताको गोदाम घर गरी प्रति घण्टा २ मेट्रिक टन चामल समेत उत्पादन गरिरहेको छ । यसका साथै आगामी दिनमा पिठो, तेल, खानेपानी तथा डेरी उद्योग समेत सञ्चालन गर्ने लक्ष्यका साथ कामहरू अघि बढेको संस्थाका अध्यक्ष देव बहादुर बमले जानकारी दिए ।

“हामीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छौ । मझगाँँउमा राइसमिल रहेको क्षेत्रलाई हामीले औद्योगिक ग्रामको रूपमा विकास गर्न खोजेका छौ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रा सदस्यहरूलाई उत्पादन सँग जोडेर उहाँहरूको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य हाम्रो छ ।” उनले भने ।

सुरु भयो चामल बिक्री
गत मङ्सिर ३० गते राइस मिल प्लान्टको उद्घाटन गरेको नवजीवन सहकारीले अहिले आफ्नै मिलबाट उत्पादित चामलको बिक्री सुरु गरेको छ । शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सहकारीले चामल बिक्री सुरु गरिएको जानकारी दिएको छ ।

यसका लागी सहकारीले यस वर्ष १६ हजार क्विन्टल धान खरिद गरेको थियो । जस मध्ये १ हजार १ सय ८४ क्विन्टल धन कुटाई गरी ६ सय ५१ क्विन्टल चामल उत्पादन गरिएको छ । उत्पादित चामललाई सहकारीका १० वटै सेवा केन्द्र मार्फत सदस्य तथा उपभोक्ता कहाँ पु¥याइने छ । शेयर सदस्यहरूको धान उचित मूल्यमा खरिद गरिने र विशेष छुट रकमका साथ संस्थाका १० वटै सेवा केन्द्र मार्फत चामल बिक्री गरिने संस्थाका अध्यक्ष बमले बताए ।
हामीले मोटो र मसिनो गरी दुई थरिका चामल उत्पादन गरेका छौ । अध्यक्ष बमले भने,… “दुवै २५ केजीमा प्याक गरेका छौ । मोटा चामलको १४ सय र मसिनो चामलको २२ सय दर निर्धारण गरेका छौ । धानको मूल्य अनुसार यो तलमाथि त हुने नै भयो । यती मात्र होइन, हामीले सहकारी मन्त्रालयसँग समन्वय गरी गाडीको व्यवस्था गर्ने र चामल होम डेलिभरी गर्ने पनि योजना बनाएका छौ । उपभोक्तालाई शुद्ध र अग्र्यानिक चामल खुवाउने लक्ष्यका साथ हामी अघि बढेका हौ ।”
हाल नवजीवन सहकारीका ३६ हजार शेयर सदस्य रहेका छन् । उनीहरूले मात्रै चामल उपभोग गरे थप बजारीकरण गर्नु नपर्ने र सहकारीको कोष पनि बढ्ने अपेक्षा समेत संस्थाको छ । २०५० सालमा स्थापना भएको नवजीवन सहकारी संस्थाका ३६ हजार ८१ जना शेयर सदस्य छन् । ३१ करोड ३४ लाख शेयर पुँजी रहेको सहकारीले ५ अर्ब ७ करोड ३६ लाख ४६ हजार निक्षेप सङ्कलन गरी ४ अर्ब १६ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।