काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जानको लागि चार मन्त्रालय प्राप्त गर्यो । सोही बमोजिम आज रास्वपाले आफूले पाउने मन्त्रालयका लागि मन्त्रीको टुङ्गो लगाएको छ ।
रास्वपा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुँदै छ । लामिछाने सरकारमा उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुङ्ग्याएको बताइएको छ ।
जस अनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उनी श्रममन्त्री बनेका थिए । तर, छोटै समयमा बाहिरनु परेको थियो ।
त्यसै गरी रास्वपाले शिक्षामन्त्रीमा सुमना श्रेष्ठलाई पठाउने भएको छ । त्यस्तै उसले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री बनाउने भएको छ ।