धनगढी : चालू अर्थिक वर्ष २०८०/०८१ मा सुदूरपश्चिममा प्राकृतिक विपत्तीको उच्च जोखिममा रह्यो । जसबाट ठूलो संख्यामा मानवीय र आर्थिक क्षति पुगेको छ । यस्तो विपत्तीबाट सबैभन्दा बढी महिलाको मृत्यु भएको छ भने घाइते हुनेमा पनि सबैभन्दा बढी महिला नै रहेका छन् ।
चालू आर्थिक वर्षमा प्राकृतिक विपदका कारण सुदूरपश्चिममा १२ करोड ७५ लाख ४२ हजार ७ सयको क्षति पुगेको अनुमान गएिको छ । यस्तै यस प्रदेशमा ६ सय ३५ को संख्यामा विपदका घटना घटेका छन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार २९ गतेसम्म आगलागी, सर्पदंश, चट्याङ, हावाहुरी, बाढी, जनावरको आंतक, पहिरो, भूकम्प, लेक लागेर, भारी वर्षा र जंगलमा आगलागी गरेर ६ सय ३५ घटना घटेका छन् । सो अवधिमा आगलागीका मात्र २ सय ६७ घटना घटेका छन् । आगलागीबाट ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको छ । १७ महिला र १२ पुरुष घाइते भएका छन् । ३ सय २ परिवार आगलागीबाट प्रभावित बन्न पुगेका छन् ।
३० घर पूर्ण र ४४ घरमा आंशिक क्षति पुगेको छ । ७४ वटा गोठमा जलेर १ सय ५ पशुचौपायामा क्षति पुगेको छ । आगलागीबाट १२ करोड १० लाख ४२ हजार ७ सय मुल्य बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।
त्यस्तै सर्पदंशका २८ घटना घटेका छन् । सुदूरपश्चिममा सर्पले डसेर ५ महिला र ३ पुरुष गरेर ८ जनाको मृत्यु भएको छ । चट्याङका १८ घटना घटेका छन् । ती घटनाबाट ४ पुरुष र ४ महिला गरी ८ जनाको मृत्यु भएको छ ।
६ महिला र ३ पुरुष घाइते भएका छन् । यसबाट १८ परिवार प्रभावित बन्न पुगेका छन् । त्यस्तै सुदूरपश्चिममा हावाहुरीका ५४ घटना घटेका छन् । ती घटनामा ५ पुरुष र २ महिला गरी ७ जनाको मृत्यु भएको छ । हावाहुरीबाट ३९ महिला र १७ पुरुष गरी ५६ जना घाइते भएका छन् । यसबाट ८१ परिवार प्रभावित बन्न पुगेका छन् । त्यस्तै बाढीका ३६ घटना घटेका छन्। ती घटनामा २ पुरुष र २ महिला गरी ४ जनाको मृत्यु भएको छ ।
पहिरोका ६२ घटना घटेका छन् । ती घटनामा एक महिला र एक पुरुष गरी २ जनाको मृत्यु भएको छ । सुदूरपश्चिमा भूकम्पका ५४ घटना घटेका छन् । भूकम्पबाट एक महिलाको मृत्यु नै भएको छ । १७ महिला र १२ पुरुष घाइते हुन पुगेका छन् । त्यस्तै जनावर आंतकका ४९ घटना घटेका छन् । ती घटनाबाट २ पुरुष र २ महिलाको मृत्यु भएको छ । २५ महिला र २२ पुरुष गरी ४७ जना घाइते भएका छन् । त्यस्ते लेक लागेर एक जनाको मृत्यु भएको छ ।
भारी वर्षाका ५४ घटना घटेका छन भने जंगल आगलागीका २९ घटना घटेका छन् । यस्ता विपदका घटनाबाट चार हजार ५४५ परिवार प्रभावित बन्न पुगेका छन् । विपदका घटनाबाट सुदूरपश्चिममा १४४ भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ भने ८२१ संरचनामा आंशिक क्षति पुगेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र (पीइओसी) को घटना विवरणमा उल्लेख छ। यसका साथै किसानका ४५४ पशुचौपायामा समेत क्षति पुगेको पाइएको छ ।