प्रेस चौतारी नेपालीको २६ औँ स्थापना दिवस कैलाली शाखाले पनि मनाएको छ । सो अवसरमा सोमबार मैत्रीपूर्ण फुटसल तथा चियापान कार्यक्रमको आयोजना गरिएको थियो । प्रेस चौतारी नेपाल कैलाली शाखा, चौतारीकै सुदूरपश्चिम प्रदेश समिति र नेकपा एमालेको जिल्ला कमिटी गरि ३ टिम सहभागी फुटसल प्रतियोगितामा चौतारी कैलाली शाखा विजयी बनेको छ ।
उसले फाइनल खेलमा जिल्ला पार्टी कमिटीलाई १-० गोल अन्तरले पराजित गरेको थियो । यस्तै चौतारी प्रदेश समितिलाई ६-५ गोल अन्तरले पराजित गरेको जिल्ला पार्टी कमिटीले दोस्रो स्थान प्राप्त गरेको छ भने चौतारी प्रदेश कमिटी तेस्रो बनेको छ । मैत्रीपूर्ण फुटसलमा पहिलो, दोस्रो र तेस्रो बनेका टिमहरूलाई सम्मान स्वरूप ट्रफी प्रदान गरिएको छ ।
मैत्रीपूर्ण फुटसलको समापन कार्यक्रमका प्रमुख अतिथि एमालेका पोलिटब्युरो सदस्य एवम् प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल रहेका थिए । रावलले नै मैत्रीपूर्ण फुटसलको उद्घाटन गरेका हुन ।
उनले स्थापना दिवसको अवसरमा प्रेस चौतारी कैलालीले आयोजक गरेको मैत्रीपूर्ण फुटसलले पार्टी र चौतारीको भूमिकालाई बलियो बनाउने बताएका छन् । मैत्रीपूर्ण फुटसल सकिए लगत्तै धनगढीको सोराई बैँकेटमा एमालेका नेता र प्रेस चौतारी सम्बद्ध पत्रकारहरूको उपस्थितिमा चियापान कार्यक्रम समेत गरिएको थियो ।
मैत्रीपूर्ण फुटसल तथा चियापान कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य रावल, पोलिटब्युरो सदस्य एवम् कैलाली इन्चार्ज गणेश ठगुन्ना, केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रचार विभाग प्रमुख कमला बोहरा, कैलाली सचिव डेजी पाण्डे, उपसचिव लोकेन्द्र शाही, ममता चौधरी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
प्रेस चौतारीकारतर्फबाट पूर्व उपाध्यक्ष तथा पूर्व सुदूरपश्चिम इन्चार्ज हेमन्त पौडेल, एमाले प्रचार विभाग सुदूरपश्चिमका सचिव राजेन्द्र नाथ, पूर्व केन्द्रीय सदस्यद्धय दिलबहादुर छत्याल, गोविन्द रोस्यारा, केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशील ढुङ्गाना, प्रदेश महासचिव शिवराज भट्ट, तथा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल, कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको उपस्थिति रहेको थियो



प्रकाशित :- २०८० माघ २२, गते सोमबार

