बैतडीमा दुई बालिकामाथि करणी भएको खुलासा भएको छ ।

जिल्लाको मेलौली नगरपालिकाकी १६ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा मेलौलीकै २५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । ती पुरुषले बालिकामाथि २०८० असार र कार्तिकमा जबरजस्तीकरणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतवार पक्राउ गरेको हो। पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ ।
यस्तै शिवनाथ गाउँपालिकाकी १५ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ती पुरुषले ललाईफकाई गरेर गत माघमा बालिकामाथि करणी गरेको जाहेरीको आधारमा उनलाई आइतवार पक्राउ गरिएको हो । घटना कसरी बाहिरीयो भन्ने बिषयमा प्रहरीले अनुसन्धानपछि मात्र जानकारी दिइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
पक्राउ परेकामाथि अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु भइसकेको बडूले जानकारी दिए । दुवै घटना अनुसन्धानमा रहेको र पीडकको नाम सार्वजनिक गर्दा पीडितलाई थप क्षति हुन सक्ने भएकाले नामसहितको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।



