हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ। यो दिवस नारी अधिकार, समानता र उनीहरूको संघर्षको सम्मानमा समर्पित छ। नारी केवल समाजको एउटा हिस्सा मात्र होइनन्, उनीहरू समाजका निर्माता, परिपालक र परिवर्तनका संवाहक पनि हुन्।

नारीको भूमिका र योगदान
नारी जन्मदात्री मात्र नभई समाज, परिवार, राजनीति, विज्ञान, साहित्य, व्यापार, शिक्षा, खेलकुद, कला र अन्य थुप्रै क्षेत्रका नेतृत्वकर्ता हुन्। इतिहास साक्षी छ कि नारीले आफ्नो मेहनत, लगनशीलता र बुद्धिमत्ताको बलमा समाजलाई रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। चाहे मातृभूमिका लागि बलिदान दिने झाँसीकी रानी लक्ष्मीबाई होऊन् वा शिक्षाको ज्योति फैलाउने सावित्रीबाई फुले, नारीहरू सधैं अग्रसर रहे। आधुनिक समयमा मलाला युसुफजई, मेरी क्युरी, कल्पना चावला, टेरेसा मदर, जस्ता नारीहरू प्रेरणाका स्रोत बनेका छन्।
नेपालकै कुरा गर्ने हो भने योगमाया, मंगला देवी सिंह, विद्या देवी भण्डारी लगायतका नारीहरूले सामाजिक न्याय, महिला हक९अधिकार र राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएका छन्।
संघर्ष र चुनौतीहरू
नारीहरूको यात्रा सँधै सहज रहेन। इतिहास हेर्ने हो भने नारीहरू अनेकौं सामाजिक कुरीति, हिंसा, विभेद र असमानतासँग लड्दै आएका छन्। आज पनि संसारभर लाखौं नारीहरू शिक्षा, स्वास्थ्य, रोजगारी, स्वामित्व र स्वतन्त्रताको लागि संघर्षरत छन्। घरेलु हिंसा, बालविवाह, मानव तस्करी, तलबमा असमानता जस्ता समस्याहरू अझै समाधान हुन सकेका छैनन्।

नेपालमा पनि महिला हिंसा, छोरीलाई दोस्रो दर्जाको नागरिक ठान्ने सोच, सम्पत्ति हस्तान्तरणमा विभेद जस्ता समस्या विद्यमान छन्। ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र आर्थिक आत्मनिर्भरता अझै चुनौतीपूर्ण छ।

नारी को हुन ?
नारी केवल एउटी छोरी, बहिनी, आमा, श्रीमती मात्र होइनन्स उनी एक मानव हुन्, जसले आफ्नो अस्तित्व, पहिचान र अधिकारको खोजी गरिरहेकी छिन्। नारी ममताकी खानी मात्र होइनन्, उनी दृढ इच्छाशक्ति भएकी योद्धा पनि हुन्। समाजमा नारीप्रति सम्मान, समानता र न्याय स्थापित गर्न हामी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ।
नारी दिवस किन महत्वपूर्ण छ ?
अन्तर्राष्ट्रिय नारी दिवस केवल उत्सवको दिन होइन, यो नारी अधिकारको आवाज बुलन्द गर्ने, समाजमा चेतना फैलाउने र समावेशी समाज निर्माण गर्नका लागि प्रतिबद्धता जनाउने दिन हो। नारीको सशक्तीकरण बिना कुनै पनि देशले आर्थिक, सामाजिक र राजनीतिक विकास गर्न सक्दैन।
यसर्थ
नारी दिवस एक प्रेरणा हो, जसले सबैलाई सम्झाउँछ कि समाजमा नारी र पुरुष समान रूपमा अगाडि बढ्नुपर्छ। नारी सशक्त भए मात्र समाज सशक्त हुन्छ। त्यसैले, नारी अधिकारलाई व्यवहारमा उतार्न, शिक्षामा लगानी गर्न, लैंगिक विभेद अन्त्य गर्न, हिंसाको विरोध गर्न, नीतिरनिर्माणमा महिला सहभागिता बढाउन हामी सबैले योगदान दिन आवश्यक छ। नारीलाई सम्मान गर, शिक्षित गर, समान अवसर देऊ – किनभने जब नारी अगाडि बढ्छिन्, समाज अगाडि बढ्छ।

