
जिल्ला कारागार कैलाली कैदीबन्दीले भरिभराउ भएको छ । कारागारभित्र ठेलमठेल हुने गरी कैदीबन्दी राखिएका छन् । १ सय ५० जना मात्र क्षमता भएको कारागारभित्र हाल झण्डै ६ सयको सङ्ख्यामा राखिएका हुन् ।


हाल कारागारभित्र ५ सय ५७ जना कैदीबन्दी राखिएको छ । साढे ७ सयको सङ्ख्यामा कैदीबन्दी भएपछि १ सय ५० जना कैदीबन्दीलाई नयाँ कारागार कोहलपुरमा राखिएको जनाएको छ । १९९७ सालमा बनेको जिल्ला कारागार कैलाली जीर्ण अवस्थामा रहेको छ । पछिल्लो समय अपराधका घटना बढ्दै गएपछि जिल्ला कारागार कैदीबन्दीले भरिन पुगेको जनाइएको छ । विशेष गरी लागूऔषध, जबरजस्ती करणी, हत्या, चोरी, कुटपिट, बैङ्किङ कसुर लगायत अपराधमा दोषी ठहर भएकाहरू कैदीबन्दी जीवन बिताइरहेको जिल्ला कारागार कैलालीका जेलर दीपक पाण्डेले बताए ।
आफूले गरेको अपराधको सजाय भोग्न जेल पसेकाहरूले ठेलमठेल गरेर जेल जीवन बिताउनु पर्ने बाध्यता रहि आएको छ । जेलभित्र सुत्न र शौचालय जान समेत निकै लामो समय पालो कुर्नु पर्ने एक कैदीबन्दीले बताए । जिल्ला कारागारमा ५ सय ५६ जम्मा कैदीहरू रहेकोमा १ सय ७७ जना लागूऔषधसँग सम्बन्धित मुद्दाका छन् । कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा ५ सय ३९ मुद्दा लागूऔषधसँग सम्बन्धितका दर्ता भएका थिए ।

जिल्ला अदालतले ४ सय ३१ मुद्दाको अन्तिम सुनुवाइ गरेको छ । १ सय ८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ । जिल्ला अदालतले कैद भुक्तानीका लागि पठाएका १ सय ४० कैदी हाल जिल्ला कारागारमा छन् । थप ३७ जना थुनुवा रहेका छन् । उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । कारागारमा रहेका १ सय ७७ जनामा ३७ जनाको अन्तिम सुनुवाइ भएको छैन । १ सय ४० जनाको मात्र अन्तिम सुनुवाइ भएको छ ।

कारागारमा ४ सय ९६ पुरुष, ५८ महिला र २ जना बालक रहेका छन् । कोहलपुर कारागार स्थानान्तरण गरिएका कैदीमा अधिकांश लागूऔषध मुद्दाका छन् । कैलाली जिल्ला अदालतमा दर्ता भएका लागूऔषधका मुद्दामा हिरोइनका ५ सय १०, गाँजा-चरेसका २४ र अन्य पाँच रहेका छन् । जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका ५ सय ३९ मुद्दामा ४ सय ३१ मुद्दा फर्छाैट भएका छन् । १ सय ८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ ।


