
सरकारले संसदको बजेट अधिवेशन अन्त्यको सिफारिश गरेको छ । हिंसा शब्दलाई लिएर नेकपा माओवादी केन्द्रले अवरोध जारी राखेका वेला सरकारले अधिवेशन नै अन्त्य गर्ने सिफारिश गरेको हो।


आज बसेको मन्त्रिपरिषदको बैठकले भोलि (सोमवार) मध्यराति १२ बजेबाट संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्नेगरी राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले जानकारी दिए।
संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते शुरु भएको थियो। चालू अधिवेशनको अन्तिम बैठक भोलि ३ बजे शुरु हुनेछ । सरकारले अधिवेशन नै अन्त्य गर्ने सिफारिश गरेपछि माओवादी केन्द्रले भोलि बस्ने अन्तिम बैठक भने चल्न दिने संकेत गरेको छ। हिंसा शब्दलाई लिएर संसद अवरुद्ध गरेको माओवादीले भोलिको बैठक चल्न दिने संकेत गरेको हो।

माओवादीले आफ्नो कुरा संसद बैठकमा राख्ने बताएको छ। प्रतिनिधिसभाको भदौ १२ गतेको बैठकमा सत्तारुढ नेकपा एमाले सांसद योगेश भट्टराईले तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि प्रमुख प्रतिपक्षी दलले यसलाई प्रतिष्ठाको विषय बनाएको हो।

माओवादी अडानका कारण आज सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो। बजेट अधिवेशनको रुपमा लिइने चालू वर्षे अधिवेशनमा बजेटका अलावा केही विधेयक पारित पारित भएका छन्। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक) चालू अधिवेशनले पारित गरेको छ।

बजेट र बजेट आश्रित विधेयकबाहेक लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि चालू अधिवेशनबाटै पारित भएको हो। यो विधेयक प्रमाणीकरण भएर लागू भइसकेको छ।
