कैलाली : सहजपुर-बिपीनगर-बोगटान सडक चालु आर्थिक वर्षभित्रै नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ। उक्त सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै असारमसान्तभित्रै हस्तान्तरणको तयारी गरिएको हो ।
निर्माणाधीन सहजपुर-बिपीनगर-बोगटान सडकको ५० किलोमिटरमध्ये चुरे गाउँपालिका-१, शिवनगरमा तीन सय ५० मिटर विवादका कारण कालोपत्र हुन नसकेको पिएलआर-कुमार जेभीका आवासीय इञ्जिनियर पुष्पराज भट्टले जनाएका छन् । उनले चालू आर्थिक वर्षको असार मसान्तभित्रै उक्त सडक नेपाल सरकारलाई हस्तान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताए ।
कैलाली जिल्लाको सहजपुरदेखि डोटीको गाडेबाँजसम्म ५० किलोमिटरमध्ये तीन सय ५० मिटरबाहेक अरु सबै सडक कालोपत्र गर्ने काम पूरा भइसकेको इञ्जिनियर भट्टले छ । आयोजना कार्यालयले दिएको जानकारी अनुसार उक्त सडक खण्डमा सडक बोर्ड मार्किङ दुई महिनाभित्रै सम्पन्न गरिनेछ । उक्त सडक खण्डमा क्षेत्राधिकारको विवाद, रुख कटान अनुमतिमा ढिलाइ, चट्टान, कोरोना महामारी लगायत विभिन्न बाधा व्यवधानका कारणले सडक निर्माण अवधि लम्बिएको इञ्जिनियर भट्टको भनाइ छ ।
विसं २०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता गरिएको थियो । तर, सम्झौताको पाँच वर्षपछि सडक निर्माणले पूर्णता पाएको हो । कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किमी सडक कालोपत्रका लागि २०१८ डिसेम्बर ५ मा पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो ।सम्झौतानुसार सन् २०२१ जुन १७ मा ७ मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँबायाँ एक/एक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरि सक्नु पर्ने हो ।
तर, निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाएको छ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण भएको सो सडक आयोजनाको सम्झौता रकम १ करोड ९६ लाख ९३ हजार ३ सय १२ अमेरिकी डलर रहेको जनाइएको छ ।विसं २०४३ देखि सहजपुर-बिपीनगर-बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु गरिएको थियो ।
कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको बिपीनगर, अत्तरकाँडा, लाना,सिमचौर, चवराचौतारा, गगुडा, तिखात्तर, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ। आयोजना कार्यालयले सहजपुर-बिपीनगर-बोगटान दीपायलसम्म सर्भे गर्ने क्रममा १ सय ८ किलोमिटर सडकको लम्बाइ रहेको जनाएको छ।