सुखड : आसन्न टी २० विश्वकप क्रिकेटका लागि नेपाल क्रिकेट सङ्घ क्यानले नेपालको नयाँ जर्सी सार्वजनिक गरेको छ ।
क्यानले सोमबार काठमाडौंमा गरेको एक कार्यक्रममा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।
नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथाको चिन्ह रहेको छ । रङ्ग रातो, हल्का मधुरो र सेतोमा छ । बीचमा नेपाल लेखिएको छ । बीचको भागको रङ्ग निलो छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी २० विश्वकपको लोगो समावेश गरिएको छ ।
कलर अर्थात् घाँटीको भाग रातो रङ्गमा छ । दुवै भागतर्फ बाउला (हातमा) नेपालको झण्डा छ ।
पछाडिको अधिकांश भाग निलो रङ्गमा रहेकाे छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लो भागमा सगरमाथा नै छ ।
विश्वकप क्रिकेट आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० हुँदै छ । उक्त विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । जस समूहमा बलियो टोली दक्षिण अफ्रिका, श्रीलंका, बङ्गलादेश र नेदरल्यान्डस् रहेका छन् ।
हरेक समूहबाट शीर्ष दुईमा रहने दुई/दुई टोली सुपर ८ मा पुग्नेछन् ।