कैलालीमा समुदायको सहयोगबाट अस्थायी ट्राफिक प्रहरी पोस्टको पक्की भवन निर्माण भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकाको बौनियामा विभिन्न सङ्घसंस्थाको सहयोगमा ४ कोठा र एक हल सहितको नयाँ भवन निर्माण भएको हो ।
कुल १५ लाख ७१ हजार ७ सय ६१ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनका लागी बर्दगोरिया गाउँपालिकाले ३ लाख ५० हजार सहयोग गरेको छ । यो बाहेक अन्य व्यक्ती तथा सङ्घसंस्थाहरूले स्वतःस्फूर्त रूपमा ५ हजार देखी ५० हजार सम्म सहयोग गरेका छन् । ट्राफिक प्रहरीले १ सय ६ जना सहयोगी दाताहरूको नामावली नै सार्वजनिक गरेको छ ।
यस अघि बौनियाका ट्राफिक प्रहरीहरूले भाडाको एउटै सटरमा आवास र कार्यालय सञ्चालन गर्नु पर्ने बाध्यता थियो । अब भने ट्राफिकको त्यो बाध्यता हटेको छ । विगत लामो समय देखी भाडाको एउटै सटरमा भान्छा, आवास र कार्यालय सञ्चालन हुँदा सेवा प्रवाहमा समस्या भएको देखेपछि स्थानीयहरू आफैले सहयोग जुटाउन सुरु गरेका थिए ।

नवनिर्मित अस्थायी ट्राफिक प्रहरी पोस्टको बुधवार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर बि।क।को अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर प्रमुख अतिथि रहेका थिए । कार्यक्रम मार्फत सहयोगी दाताहरूलाई सम्मान गरिएको छ भने भवन निर्माणमा महत्त्वपूर्ण व्यवस्थापकीय भूमिका खेलेको भन्दै अस्थायी ट्राफिक प्रहरी पोस्ट बौनिया प्रमुख प्रहरी नायव निरीक्षक श्याम बोहरालाई नगद सहित सम्मान समेत गरिएको छ ।




