
काठमाण्डौ : उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरी अमेरिकी दूतावासमा भिसा सिफारिस गरेको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ ।


समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको बताए । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लैजाने गरी डेढ वर्षअघि दूतावासमा पत्र लेखेको सार्वजनिक भएको थियो ।
उनले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर लेखेको पत्र केही दिनअघि मात्र सार्वजनिक भएको हो । उपसभामुख रानाले भने आफूविरुद्ध नियोजित कदम चालिएको बताएकी छन् ।

विवादित पत्रबारे हिजो प्रष्टीकरण दिँदै रानाले आफूले करूणाभावले पत्र लेखेको तर पत्र लेखेको डेढ वर्षपछि विवादित बनाउन खोजिनुको पछि नियोजित कदम रहेको उल्लेख गरेकी हुन् ।


