
काठमाण्डौ : लगातारको अविरल वर्षाका कारण देशभर विभिन्न स्थानमा गएको बाढी पहिरोमा परी ७० जनाको मृत्यु भएको छ । यस्तै ८६ जना घाइते भएका छन् ।


विगत २४ घण्टा यता मात्र देशभर ५२ जनाभन्दा बढीको ज्यान बाढी पहिरोले लिएको जनाइएको छ । नेपाल प्रहरीका अनुसार निरन्तरको वर्षाले काठमाण्डौसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोले जनधनको व्यापक क्षति समेत गरेको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण ५ जना बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण हालसम्म ८६ घरमा ठूलो क्षति भएको छ ।
यस्तै वर्षाका कारण ३ सय ३५ पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ । हालसम्म अविरल वर्षा, पहिरो, चट्याङ तथा बाढी गएको ठाउँमा ४ हजार ७ सय ९० जना प्रहरी परिचालन गरिएका छन् । साथै प्रहरीका अनुसार बाढी र पहिरोका कारण पछिल्लो २ दिनमा ९ करोड ५६ लाख ७४ हजार २ सय ५० रुपैयाँ बराबरको क्षति भएको छ ।



