कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले केही दिन अगाडि धनगढीमा सम्पन्न १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

बिहीबार नगरमा एक कार्यक्रमको विशेष आयोजना गर्दै रनिङ शिल्ड प्रतियोगीतामा पालिकाबाट सहभागी मध्येबाट पदक विजेता खेलाडी र प्रशिक्षकलाई पालिकाले नगद, प्रशंसा पत्र र खाँदा ओढाएर सम्मान गरेको हो ।
पदक विजेता प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० हजार, ७ सय ५ हजार, ५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको हो । पदक जित्न नसकेका अन्य सहभागी खेलाडीहरूलाई पनि प्रशंसा पत्र र खाँदा ओढाएर सम्मान गरेको थियो ।
नगरको सभा हलमा भएको कार्यक्रममा विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई नगर प्रमुख खडक बहादुर रावत, उप प्रमुख गुलिया कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी र शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंहले संयुक्त रूपमा पुरस्कार वितरण गर्दै सम्मान गरेका थिए ।
उक्त अवसरमा नगर प्रमुख खडक बहादुर रावतले खेलाडीको हौसला वृद्धि तथा उच्च मनोबल रहोस् भन्दै खेलाडीको लागि पालिकामै बोलाएर सम्मान गरिएको बताए । आगामी दिनमा पनि खेल जगतमा हुने क्रियाकलापमा नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने बताए । तथा इन्डोर खेलका विधाका लागि इन्डोर हलको व्यवस्था नगरले गर्ने जनाए ।
कार्यक्रममा उप प्रमुख, वडा अध्यक्ष, खेलाडी, प्रशिक्षक तथा विभिन्न शिक्षक सङ्गठनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए । धनगढी रङ्गशालामा माघ २७ शनिवार सम्पन्न भएको प्रतियोगितामा धनगढी उपमहानगरपालिका ३० स्वर्ण, ६ रजत र ९ कास्य गरी ४५ पदक सहित प्रथम र २२ स्वर्ण, १७ रजत र १७ कांस्य गरी ५६ पदक सहित घोडाघोडी नगरपालिका दोस्रो हुन सफल भएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो ।
गत वर्ष पनि घोडाघोडी नगरपालिका १६ स्वर्ण सहित दोस्रो स्थान नै हासिल गरेको थियो । यस पटक पदकको सङ्ख्या बढाए पनि स्थान भने माथि उक्लिन सकेन ।



