
काठमाडौं । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर भूकम्प गयो । उक्त भुकम्पले क्षति पु¥याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम अझै पनि सम्पन्न भएको छैन । तर चार महिनामा रुकुम पश्चिममा २८ हजार ३४ वटा अस्थायी आवास निर्माण भएका छन् ।


सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिएका छन् । ३१ हजार ९ सय ६२ लाभग्राही पहिचान भएकोमा अझै ३ हजार ९ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार ९ सय ६२ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजारका दरले ७९ करोड ९० लाख रुपैयाँ पठाएको छ । स्थानीय विपद् कोषबाट भने ३० हजार २ सय ३१ लाभग्राहीले २५ हजारका दरले ७५ करोड ७५ हजार रकम प्राप्त गरेका छन् ।

पहिचान भएका १ हजार ७ सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।


