
सुदूरपश्चिममा चालु आर्थिक वर्ष सुरु भएको ८ महिनामा आगलागीबाट ४ करोड ४६ लाख ७४ हजार ४५० मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रदेशका नौवटै जिल्लामा आगलागीका घटना यस वर्ष पनि दोहोरिएको छ । भौतिक र आर्थिकसँगै आगलागीबाट मानवीय क्षति समेत भएको छ । सो अवधिसम्म अगलागीबाट तीन महिला र तीन पुरुष गरि ६ जनाको मृत्यु भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको विवरणमा उल्लेख छ ।
साथै आगलागीबाट १२ महिला र ८ पुरुष गरि २० जना घाइते भएका छन् । यसका साथै यस प्रकारको घटनाबाट एक सय ५६ परिवार प्रभावित बन्न पुगेका छन् । आगलागीबाट १३ घरमा आंशिक र १६ घरमा पूर्ण क्षति पुगेको समेत पीइओसीले संकलन गरेको विवरणमा उल्लेख छ । सो अवधिमा ३१ वटा गोठमा आगलागी भएर ४० पशु चौपायामा क्षति पुगेको छ ।

साउनदेखि फागुन मसान्तसम्म घटेका आगलागीका घटनाबाट चार करोड ४६ लाख ७४ हजार ४५० मुल्य बराबरको धनमाल जलेर नष्ट भएको केन्द्रको अनुमान छ । प्रदेशभित्र सबैभन्दा बढी नोक्सानी आगलागीबाटै हुने गरेको पाइएको छ । विशेष गरी आगलागीका घटना विद्युतको तार सर्ट भएर, ग्यास लिक भएर, एक स्थानमा बालेको आगो अर्का स्थानमा सल्केर, विद्युतीय उपकरण पट्केर, अज्ञात व्यक्तिले गरेको बदमासीले र चुरोट तथा विडीका ठुटा जथाभावी फाल्ने लगायत कारणबाट हुने गरेको देखिएको छ । पछिल्लो समय विद्युतको तार सर्ट भएर बढी घटना हुने गरेको देखिएको छ ।
