कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र विवादरहित रूपमा सम्पन्न भएको छ। यस निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन अधिकृत पुष्कलराज प्रसाईँको समन्वयकारी भूमिका महत्वपूर्ण देखिएको छ।२०६८ सालमा शाखा अधिकृत पदबाट निजामती सेवामा प्रवेश गरेका प्रसाईँ २०७८ सालमा उपसचिव पदमा पदोन्नति भएका हुन्। प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुलेका उनी हाल सर्वोच्च अदालतमा उपसचिवका रूपमा कार्यरत छन्।
सरकारले उनलाई सुदूरपश्चिम प्रदेशको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको जिम्मेवारी दिएपछि उनी पहिलोपटक यस क्षेत्रमा पुगेका थिए। ‘सुखड’ भन्ने स्थानको नामसमेत पहिले नसुनेका प्रसाईँले यहाँ आउनुअघि आफ्ना साथीभाइसँग यस क्षेत्रको बारेमा सोधपुछ गरेका थिए। कतिपय साथीभाइले त्यस्तो टाढाको ठाउँमा नजान सुझाव दिए पनि उनले सरकारले दिएको जिम्मेवारीलाई प्राथमिकता दिँदै कैलाली पुग्ने निर्णय गरे।
निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेपछि प्रसाईँले सुरुदेखि नै उच्च व्यवस्थापकीय भूमिका र समन्वयकारी शैलीमा काम अघि बढाए। स्थानीय राजनीतिक दल, जनता, सुरक्षा निकाय, कर्मचारी तथा सञ्चारकर्मीहरूसँग निरन्तर संवाद र सहकार्य गर्दै उनले निर्वाचन प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गरे।
निर्वाचन कार्यालय उद्घाटन भएदेखि नै उनले सरोकारवाला सबै पक्षसँग नजिकबाट सम्पर्क राख्दै निर्वाचनलाई स्वच्छ निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सक्रिय भूमिका खेले। यही समन्वय र व्यवस्थापनका कारण कैलाली–३ को निर्वाचन कुनै विवादबिना सम्पन्न भएको छ। मतदान सकिएसँगै मतगणना प्रक्रिया पनि सहज रूपमा सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको छ।
अर्थ मन्त्रालय, राजस्व विभाग लगायत विभिन्न सरकारी कार्यालयमा काम गरिसकेका प्रसाईँले आफ्नो प्रशासनिक अनुभव र उच्च व्यवस्थापकीय समन्वयकारी क्षमताको प्रयोग गर्दै नयाँ भूगोलमा पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएका छन्।
कैलाली–३ को निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा प्रसाईँको नेतृत्व, समन्वय र व्यवस्थापन क्षमतालाई स्थानीय तहका विभिन्न सरोकारवालाले सकारात्मक रूपमा लिएका छन्।



