कैलालीको लम्किचुहा नगरपालिकाको एक विद्यालयमा विद्यार्थीलाई झोला सहयोग गर्ने बहानामा खुलेआम धर्म प्रचार गर्ने गरेको पाइएको छ । जुन कानुनद्वारा दण्डित कार्य हो । संविधानको धारा २६ को ३ मा व्यक्तिको धार्मिक स्वतन्त्रता भएता पनि कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम वा व्यवहार गर्न नहुने र यस्ता कार्य कानुनद्वारा दण्डित हुने उल्लेख छ ।

तर यता पालिकाको वडा नम्बर १ मा रहेको सहिद स्मृति माध्यमिक विद्यालयमा स-साना बालबालिका (विद्यार्थी) लाई लक्षित गर्दै बाइबल प्रचार गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । विद्यालयका विपन्न विद्यार्थीलाई झोला सहयोग गर्ने भन्दै विद्यालय प्रवेश गरेको पास्टर जनमेजय भट्टराईको टोलीले विद्यार्थीलाई धर्म परिवर्तनको मानसिकता तयार पार्न धर्मको प्रचार गरेको बुझिएको छ । धर्म प्रचारमा सहयोग गरेको भन्दै विद्यालय प्रशासन तथा नियमन नगरेको भन्दै स्थानीय पालिकाको आलोचना समेत हुन थालेको छ ।
कारबाही गर्छौ: पालिका
धर्म प्रचार गर्न सहयोग गर्ने विद्यालय प्रशासनलाई कारबाही गर्ने नगर सरकारले जनाएको छ । धर्म प्रचारको बारेमा आफूलाई जानकारी नभएको भन्दै नगर प्रमुख सुशीला शाहीले भिडियो हेरेर थाहा पाएको बताइन् । “म बाहिर थिए, आज आउँदैछु, मैले पनी भिडियो हेरेर थाहा पाए, यस्ता गलत काम गर्ने र गर्न सघाउने सबैलाई कारबाही गर्ने हो । मैले विद्यालयका प्रधानाध्यापक र अध्यक्षलाई कार्यालयमा बोलाएको छु ।” नगर प्रमुख शाहीले भनिन् ।
हाम्रो संलग्नता छैन: विद्यालय
भिडियोमा जे देखिए पनि धर्म प्रचारमा आफूहरूको संलग्नता भने नभएको विद्यालय परिवारले बताएको छ । विपन्न विद्यार्थीलाई झोला बाँड्ने भनेपछि विद्यालयमा प्रवेश दिएको र झोला वितरण कार्य सकिए पछि सानो मन्तव्य बोल्छु भन्दै पास्टर बोल्न थालेको विद्यालयले दबी गरेको छ । “झोला बाँड्दा पास्टरले बोल्दिएको विषय हो । यसमा हाम्रो समर्थन, पूर्व योजना र समन्वय केही होइन । हामीले धर्म प्रचारका लागि प्रवेश दिएका पनि होइनौ । पास्टरले हामीलाई झुक्काएर यस्तो बोल्नु हुँदैन थियो ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकालले भने ।



