कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्री बनाउँदै सरकार बिस्तार गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री शाहले उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री दिँदै सरकार विस्तार गरे । चौधरीसँगै उन्मुक्तिका इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्री नियुक्त गर्दै उनीले हिजो नै शपथ लिई सकेका छन् ।
मुख्यमन्त्री आफू अल्पमतमै परेका बेला सरकारलाई विस्तार गरेका हुन् । हाल सरकारमा उन्मुक्ति पाटीको मात्रै समर्थन रहेको छ । जो बहुमतका लागि प्रयाप्त हैन । मुख्यमन्त्रीलाई अब स्वतन्त्र र राप्रपाका एक एक जना सांसदले साथ दिए प्रयाप्त बहुमत प्राप्त गर्ने छन् । मुख्यमन्त्री शाहले राप्रपा सांसद खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा.तारा जोशीलाई पनि सरकारमा ल्याउने गरि कसरत गरेका थिए । तर राप्रपाले केन्द्रमा कुनै निर्णय नगरेको भन्दै सरकारमा तत्काल नजाने बताएको छ ।
त्यस्तैमा स्वतन्त्र सांसद जोशीले पनि यस विषयमा कुनै निर्णय नगरेको बताएका छन् ।
५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकारको बहुमतका लागि २७ जना आवश्यक पर्दछ । अहिले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यी दुईले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले शुक्रबार सरकार विस्तार गरेको हो ।
सरकारमा उन्मुक्तिका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी थिए । उनलाई यथावत् राखिएको छ भने राज्यमन्त्री रहेका कैलाश चौधरीलाई फिर्ता बोलाएर उक्त स्थानमा पार्टीकै इन्द्रिरा गिरीलाई नियुक्त गरिएको हो ।