भूकम्प पीडितहरूलाई राहत बोकेर कैलालीको घोडाघोडी नगर सरकारको टोली जाजरकोट प्रस्थान गरेको छ । ६ लाख बराबरको खाद्यान्न सहित नगरपालिकाको टोली बुधवार साँझ प्रस्थान गरेको जनाइएको छ ।
“जिल्ला प्रशासन कार्यालय जाजरकोट सँग समन्वय गरेका छौ । दाल, चामल लगायतका सहयोग बढी आएको छ भन्नु भयो । हामीले आटा बढी लिएका छौ । यो राहत जिल्ला प्रशासनलाई हस्तान्तरण गर्छौ । समस्या पर्दा एक अर्काको सहारा बन्नु पर्छ भन्ने हो ।” नगर प्रमुख खडकबहादुर रावतले भने ।
मेयर रावत नेतृत्वको टोलीमा नगर प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझा, ५ का अध्यक्ष लोकबहादुर चन्द, १२ का अध्यक्ष रामदुलारे चौधरी र नगरपालिकाका सूचना अधिकारी एवम् शिक्षा शाखा प्रमुख उमेश रेग्मी पनि सहभागी छन् । बिहीबार प्रशासन मार्फत राहत वितरण गरेर फर्किने कार्य तालिका रहेको बताइएको छ ।
गत शुक्रवार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पले जाजरकोट सहित पश्चिम रुकुम र सल्यानमा समेत ठुलो धनजनको क्षति गरेको छ । पीडितहरू अहिले पनि राहतको भरमा त्रिपालमुनि त्रासपूर्ण जीवन बाच्न बाध्य छन् ।