कैलालीको घोडाघोडी नगरपालिका–८ लठुवामा पिकनिक खाने क्रममा तीन समूहबीच झडप भएको छ। घटनामा वडा नम्बर ८ का अध्यक्ष वीरबहादुर साउदको हातमा चोट लागेको छ भने स्थानीय युवा सुनिल खड्का घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय सुखडका डिएसपी रमेश दत्त अवस्तीका अनुसार खोलामा छुट्टाछुट्टै पिकनिकका लागि गएका समूहबीच वाकयुद्ध हुँदै झडपमा पुगेको हो। सो क्रममा अध्यक्ष साउदको हातमा चोट लाग्नुका साथै सुनिल खड्का समेत सामान्य घाइते भएका हुन् ।
झडपपछि युवाको समूहले अध्यक्ष साउदमाथि कुटपिट गरेको आरोप सहित इलाका प्रहरी कार्यालय सुखडमा निवेदन दिएका छन्। घटनाबारे आज बिहान १० बजे छलफलका लागि बोलाइएको प्रहरीले बताएको छ।
यता युवाहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै “आफूहरूले सामान्य जिज्ञासा राख्दा समेत अध्यक्ष कुटपिटमा उत्रिएको भन्दै” आपत्ति जनाएका छन्।


