जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन कैलालीले आयोजना गरेको जनतासँग जबजको सान्दर्भिकता सम्बन्धी विचार गोष्ठी कैलालीको सुडखडमा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले गरेका हुन्। उद्घाटन कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, पोलिट ब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारद मुनि राना, केन्द्रीय सदस्यहरू गौरीशङ्कर चौधरी, सन्तोष शर्मा थापा, महेश्वर पाठकलगायत नेताहरूको उपस्थिति रहेको थियो।
फाउन्डेसनका कैलाली जिल्ला अध्यक्ष रामचन्द्र जोशीका अनुसार कैलालीका विभिन्न पालिका र अस्पतालमा वृक्षारोपण र रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ।
आज सुखडस्थित घोडाघोडी नगरपालिकामा ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विशेष सम्बोधन एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र पोलिट ब्युरो सदस्य नारदमुनि रानाले गर्ने जनाइएको छ।
कार्यक्रममा मदन भण्डारीको जीवन, व्यक्तित्व, विचार र योगदानबारे विशेष छलफल र बहस गरिनेछ। “मदन भण्डारीले सिद्धान्त र व्यवहारको सन्तुलन गर्दै देशमा विचारको नवीन यात्रा सुरु गर्नुभएको थियो,” अध्यक्ष जोशीले भने, “गोष्ठीको उद्देश्य उहाँका विचारलाई समसामयिक राजनीतिक परिप्रेक्ष्यमा सान्दर्भिक बनाउँदै लैजानु हो।”
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, सामाजिक अगुवा, विद्यार्थी र सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा मदन आश्रित पुस्तकालयको पनि सचिव भट्टले उद्घाटन गरेका थिए ।


