सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा दुई जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घरकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका–८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिएका छन् ।
एसपी काफ्लेका अनुसार उनीहरूलाई बोकेका एम्बुलेन्सहरु शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जास्थित टुपी डाँडामा अड्किएको थियो ।
मृत्यु हुने बिरामी मध्ये सिंजाली मिर्गौलाको बिरामी रहेको पाइएको एसपी काफ्लेले बताए । भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं लगिँदै गरेको बताइएको छ ।