कैलालीको सुखडमा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरिएको छ । निर्वाचन मण्डलले बुधबार एक सूचना जारी गर्दै निर्वाचन स्थगित गरिएको जानकारी दिएको छ ।

आगामी चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका विभिन्न चरणहरू अगाडि बढिरहेका अवस्थामा निर्वाचन स्थगित गरिएको हो । फागुन १९ गते संगठन दर्ता गर्दै निर्वाचनलाई अगाडि बढाएको घोडाघोडी बहुमुखी क्याम्पसले फागुन २१ गते मतदाता नामावली प्रकाश गरेको थियो । जसको २५ गतेसम्म मतदाता उपर उजुरी दिने समय तोकिएको थियो । जसको अन्तिम दिन २५ गते नेपाल विद्यार्थी संघले मतदाता उपर छानबिन गरिपाऊँ भन्दै निवेदन पेश गरेको थियो । जसका आधारमा निर्वाचन समितिले ३५ जनाको नाम हटाउँदै अन्तिम नामावली प्रकाशन गरेको थियो ।
तर त्यसमा पनि नेवि संघले आशंका गर्दै फागुन २६ गते निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो । विद्यार्थीको भर्ना मिति सहितको विवरण उपलब्ध गराउनु पर्ने माग राखेको थियो । समितिले त्यो दिन नसक्ने जवाफ फर्काएको थियो । तर नेवि संघले विरोध गरिरह्यो त्यसलाई अनेरास्ववियुले समेत आत्मसात् गर्यो । अन्तिमसम्म सहमतिको प्रयास गरेको निर्वाचन समितिले सहमति जुटाउन नसकेपछि स्थगित गरिएको जानकारी गराएको छ ।



