थारु समुदायको महान पर्व माघीको अवसरमा हरेक वर्ष आयोजना हुने माघी मेला २०८० शुक्रवारबाट बर्दगाेरिया धाममा सुरु भएको छ । बर्दगाेरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष जगराम चौधरीको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी रहेका थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष कुँवरले संस्कृति संरक्षण सँगै यस क्षेत्रको प्रचार प्रसार र पर्यटन विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए । यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष गिरीले धर्म संस्कृति संरक्षणमा सबैले हातेमालो गर्न आवश्यक रहेको कुरामा जोड दिए । यस्ता मेलाहरूले सामाजिक सद्भाव बढाउने भन्दै उनले सबै मिलेर मेला सफल पार्न आग्रह गरे ।
पर्यटन क्षेत्रको प्रचार तथा संस्कृति संरक्षणका लागि आयोजित मेला माघ २ गते सम्म सञ्चालन हुनेछ । मेलामा स्थानीय झाँकी तथा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ । मेला रात्रि समयमा पनि सञ्चालन हुने भएकाले गाउँपालिकाले हाईमास्ट लाइट जडान गरेकाले छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित झैझगडालाई मध्यनजर गर्दै मेला परिसरमा माधक पदार्थ बिक्री वितरणमा समेत प्रतिवन्ध गरिएको छ ।
प्रकाशित :- २०८० पुष २७, गते शुक्रबार