सुखड : भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले दोस्रो हार बेहोरेको छ । यता कोलकाता नाइट राइडर्सले भने आईपीएलमा लगातार दोस्रो जीत दर्ता गरेको छ ।
गएराति सम्पन्न खेलमा कोलकाताले बेङ्गलोरलाई उसैको घरेलु मैदानमा ७ विकेटले पराजित गरेको हो ।
बेङ्गलोरले प्रस्तुत गरेको १ सय ८३ रनको विशाल लक्ष्य कोलकाताले मात्र ३ विकेटको क्षतिमा १९ बल अगावै सजिलै जीत दर्ता गर्यो । उसको जीतमा वेंकटेश ऐयरले ३० बलमा सर्वाधिक ५० रनको योगदान दिए । उनले ३ चौका र ४ छक्का हिर्काए ।
त्यस्तै ओपनरद्वय फिल साल्ट र सुनिल नरेनले कोलकातालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । साल्टले २० बलमा ३० रन बनाए भने सुनिलले मात्र २२ बलमा ४७ रनको विस्फोटक इनिङ्स खेले । उनले २ चौका र ५ छक्का प्रहार गरे ।
कप्तान श्रेयर ऐयरले अविजित रहँदै ३९ रन तथा रिंकु सिंहले ५ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए ।
बेङ्गलोरका लागि यश दयाल, मंयक डगर र विजयकुमारले १/१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले विराट कोहलीको शानदार ८३ रनको अर्धसतकीय इनिङ्सको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रनको आँकडा तयार गरेको थियो । कोहलीले मात्र ५९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै, क्यामरुन ग्रिनले ३३ रन तथा ग्लेन म्याक्सवेलले २८ रनको योगदान दिए । दिनेश कार्तिक रन आउट हुनअघि २० रन बनाएका थिए ।
बलिङ तर्फ कोलकाताका लागि हर्षित राना र आन्द्रे रसले २/२ विकेट तथा सुनिल नरेनले १ विकेट लिए ।
दुई खेलमा दोस्रो जीतसहित कोलकाता अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता ३ खेलमा दोस्रो हार बेहोरेको बेङ्गलोर छैटौँ स्थानमा सीमित बनेको छ ।
कोलकाताले पहिलो खेलमा सनराइजर्स हैदराबाद माथि ४ रनको सनसनीपूर्ण जीत दर्ता गरेको थियो । यस पटकको आईपीएल बलियो देखिएको कोलकाता आफ्नो तेस्रो खेल आगामी बुधबार दिल्ली क्यापिटलसंग खेल्ने छ ।
यता तीन खेल खेल्दै एकमा मात्रै जीत निकालेको बेङ्गलोर आफ्नो पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ससंग ८ विकेटले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा पञ्जाब किङ्समाथि ४ विकेटको जित हात पारेको थियो ।
आईपीएल क्रिकेटमा आज पनि एक खेल हुने भएको छ । आज पञ्जाब किङ्स र लखनऊ सुपर जाइन्ट भिड्दै छन् । पञ्जाब आज दोस्रो जितको खोजीमा बिदा लखनऊ पहिलो जितको खोजीमा रहेको छ ।
हालसम्म दुई खेल खेलेको पञ्जाबले एकमा जीत र एकमा हार बेहोरेको छ । दिल्ली माथि ४ विकेटको जित हात पारेको पञ्जाब बेङ्गलोरसँग ४ विकेटले नै पराजित हुन् पुग्यो ।
एक मात्रै खेल खेलेको लखनऊ राजस्थान रोयल्ससंग २० रनले पराजीत हुन पुग्यो ।