कैलालीको घोडाघोडी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको छ । विद्यार्थीहरूको क्षमता प्रदर्शन, विकास, अभिवृद्धिका रूपमा निकै महत्त्वपूर्ण मानिने यो प्रतियोगिता पालिकाको वडा नम्बर १० मा रहेको कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा बुधबारबाट सुरु भएको हो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ! एकताबद्ध देश, खेलकुदको सन्देश” भन्ने मूल नारा सहित सुरु भएको कार्यक्रमको उद्घाटन नगर प्रमुख खडक बहादुर रावतले गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खडक बहादुर रावतले यो कार्यक्रम विद्यार्थीहरूको शारीरिक, मानसिक र भौतिक विकास सँगै क्षमता प्रदर्शन, सिकाई र अगाडी बढ्ने राम्रो प्लेटफर्मका रूपमा स्थापित हुनु पर्ने बताए । “हामी शिक्षा र खेलकुदका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अघि बढेका छौ । हरेक वर्ष सञ्चालन हुने यो कार्यक्रम धेरै विद्यार्थीको क्षमता प्रदर्शन गर्दै लक्ष्य भेट्ने सहज मागका रूपमा समेत स्थापित हुन थालेको छ । यस क्षेत्रका खेलाडीहरूले राम्रो प्रदर्शन गरेर जिल्ला, प्रदेश हुँदै केन्द्र सम्म आफ्नो र पालिकाको नाम राख्न सफल भएका छन् ।” उनले भने ।
बुधवारबाट सुरु भएको माध्यमिक तहको राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता २८ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा २२ विद्यालयहरूको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र एथलेटिक्स लगायतका खेलहरू सञ्चालन हुने समितिले जानकारी दिएको छ ।
प्रकाशित :- २०८० पुष २६, गते बिहीबार