देशका केही ठाउँमा वर्षा र हिमपात भएको छ । पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै सङ्खुवासभामा १५.६ मिलिमिटर पानी परेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पनि केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । दिउँसोपछि मौसममा सुधार हुनेछ । पानी परेको ठाउँका किसान हर्षित भएका छन् । तर धेरै ठाउँमा हिउँदे वर्षा हुन सकेको छैन ।
नेपालको मौसमी पात्रो अनुसार मंसीर १५ गतेदेखि फागुन १५ गतेसम्मको तीन महिनालाई हिउँद अबधि मानिन्छ ।
अब फागुन १५ गतेअघि पानी पार्ने अर्को प्रणाली आउने सम्भावना नरहेको मौसमविद्को भनाइ छ । हिउँद सुक्खा हुँदा कृषिबालीमा असरसँगै डढेलो, वायु प्रदूषण लगायतको जोखिम बढ्छ ।



