
कैलालीको घोडाघोडी नगरपालिकाले खेलकुद क्षेत्र उत्कृष्ट योगदान गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ । खेलकुद क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै परिषद्ले ७५३ स्थानीय तह मध्ये घोडाघोडी नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।


बुधवार काठमाडौंमा आयोजित राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६१ औँ वार्षिकोत्सव कार्यक्रममा घोडाघोडीलाई उत्कृष्ट स्थानीय तह भनेर सम्मान गरेको गरेको हो । उक्त कार्यक्रममा नगर प्रमुख खडक बहादुर रावतलाई राखेपले कदर पत्र सहित सम्मान गरेको थियो । पालिकाले नगर, जिल्ला तथा प्रदेश स्तरीय खेलकुद क्षेत्रमा ठूलो लगानी गरेको बताईएको छ । राष्ट्रिय खेलकुद परिषद्बाट नगरपालिका उत्कृष्ट स्थानीय तह भनेर सम्मान हुनु नगर वासी तथा खेलाडीहरूलाई गौरवको कुरा भएको नगर प्रमुख रावतले बताए ।
खेलकुद क्षेत्रको विकास लगायत अतिरिक्त क्रियाकलापमा नगरपालिकाले लगानी गर्दै आएको र यसलाई निरन्तरता दिने पनि रावतको भनाई छ । खेलकुदका संरचना बनाउनको लागि प्रदेश तथा केन्द्रीय सरकारसँग बजेट माग गर्ने कार्य आफूहरूले गरिरहेको उनले बताएका छन् ।

पछिल्लो समय घोडाघोडी नगरपालिकाका खेलाडीहरूले नगर, जिल्ला तथा प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छन् । २०८० साल माघ महिनामा धनगढीमा सम्पन्न कैलाली जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता घोडाघोडी जिल्लामा दोस्रो भएको थियो । प्रतियोगितामा २२ स्वर्ण, १७ रजत र १७ कांस्य गरी ५६ पदक सहित घोडाघोडीले दोस्रो हाँसिल गरेको थियो ।



