
शनिवारबाट सुरु भएको कैलालीको चिसापानी–सोल्टा सडक सुधार अभियान जारी रहेको छ । जनतालाई आवागमनमा सहजता प्रदान गर्न स्थानीय तथा प्रदेश सरकारले गर्नु पर्ने सामान्य पहल नगरेको भन्दै नागरिक स्तरबाट श्रमदान मार्फत सडकको अवस्था सुधार गर्न थालिएको हो ।सरकारलाई सडक मर्मत तथा स्तर उन्नतिको लागी दबाब दिने उद्देश्यले नेकपा एमालेको नेतृत्वमा श्रमदान मार्फत सडक मर्मतको काम भइरहेको अभियानका संयोजक वीरेन्द्र बहादुर रावलले जानकारी दिए । ”काम नगर्ने, जनताको समस्या नदेख्ने र नसुन्ने सरकारका विरुद्ध नाराबाजी गर्नु भन्दा आफैले श्रमदान मार्फत सडक सुधारको काम गरी साङ्केतिक दबाब दिन खोजेका हौ । स्थानीय पालिका सँग २ वटा डोजर छ तर यो सडकमा जनताले जोखिम मोलेर यात्रा गर्दै छन् । ती डोजरहरू कहाँ छन् ? कमिसन खानका लागी मात्रै साधनहरू खरिद गरिएका हुन त ? हैन भने बर्खा सकिएर चाडबाड आउँदा सम्म सडक मर्मतमा डोजर किन प्रयोगमा आएनन् ।“ उनले प्रश्न गरे ।


अभियान संयोजक रावलका अनुसार श्रमदान सँगै काममा २ वटा ट्र्याक्टर र एउटा डोजर समेत परिचालन गरिएको छ । त्यसको खर्च व्यवस्थापनको जिम्मा भने कैलाली जिल्ला समन्वय समितिका पूर्व सभापति समेत रहेका नेकपा एमालेका नेता सूर्य बहादुर थापाले लिएका छन् । मोहन्याल गाउँपालिका वडा नम्बर–७ मा पर्ने केलाडी भिरमा बाटो मर्मतको काम भइरहेको छ । असहज भएको ठाउँमा पूर्ण रूपमा मर्मत नहुँदा सम्म श्रमदान जारी रहने जनाइएको छ । शनिवार केलाडी भिरको डङडङे खोलामा सडक मर्मत गरिएको थियो भने आइतबार देउराली खोलामा खसेको पहिरो हटाइएको छ ।




