शनिवारबाट सुरु भएको कैलालीको चिसापानी–सोल्टा सडक सुधार अभियान जारी रहेको छ । जनतालाई आवागमनमा सहजता प्रदान गर्न स्थानीय तथा प्रदेश सरकारले गर्नु पर्ने सामान्य पहल नगरेको भन्दै नागरिक स्तरबाट श्रमदान मार्फत सडकको अवस्था सुधार गर्न थालिएको हो ।
सरकारलाई सडक मर्मत तथा स्तर उन्नतिको लागी दबाब दिने उद्देश्यले नेकपा एमालेको नेतृत्वमा श्रमदान मार्फत सडक मर्मतको काम भइरहेको अभियानका संयोजक वीरेन्द्र बहादुर रावलले जानकारी दिए । ”काम नगर्ने, जनताको समस्या नदेख्ने र नसुन्ने सरकारका विरुद्ध नाराबाजी गर्नु भन्दा आफैले श्रमदान मार्फत सडक सुधारको काम गरी साङ्केतिक दबाब दिन खोजेका हौ । स्थानीय पालिका सँग २ वटा डोजर छ तर यो सडकमा जनताले जोखिम मोलेर यात्रा गर्दै छन् । ती डोजरहरू कहाँ छन् ? कमिसन खानका लागी मात्रै साधनहरू खरिद गरिएका हुन त ? हैन भने बर्खा सकिएर चाडबाड आउँदा सम्म सडक मर्मतमा डोजर किन प्रयोगमा आएनन् ।“ उनले प्रश्न गरे ।
अभियान संयोजक रावलका अनुसार श्रमदान सँगै काममा २ वटा ट्र्याक्टर र एउटा डोजर समेत परिचालन गरिएको छ । त्यसको खर्च व्यवस्थापनको जिम्मा भने कैलाली जिल्ला समन्वय समितिका पूर्व सभापति समेत रहेका नेकपा एमालेका नेता सूर्य बहादुर थापाले लिएका छन् । मोहन्याल गाउँपालिका वडा नम्बर–७ मा पर्ने केलाडी भिरमा बाटो मर्मतको काम भइरहेको छ । असहज भएको ठाउँमा पूर्ण रूपमा मर्मत नहुँदा सम्म श्रमदान जारी रहने जनाइएको छ । शनिवार केलाडी भिरको डङडङे खोलामा सडक मर्मत गरिएको थियो भने आइतबार देउराली खोलामा खसेको पहिरो हटाइएको छ ।



