
कैलालीको गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला चलेको छ । प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भ मेलाको योग पर्ने गरेको भन्ने शास्त्रीय मान्यताअनुसार कुम्भ मेलाको प्रतीकका रूपमा २९ पुसदेखि बाह्रराशि दर्शन मकर मेला सुरु गरिएको आयोजक गोदावरी धाम विकास समितिले जनाएको छ ।

मेला १२ गतेसम्म सञ्चालन हुने छ । मेला अवधिभर धाम क्षेत्रमा रहेको कुम्भ वाटिकामा भक्तजनका लागि बाह्रराशि, नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको दर्शन एवं पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ । बाह्रराशी दर्शन मकर मेलाको आयोजनाले गोदावरी धामको धार्मिक पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
यस्तै मंगलबार विहानैदेखि गोदावरीमा स्नान गर्नेहरूको भीड छ । मकर मेलाका लागि गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था पनि गरेको छ । नगरप्रमुख वीरेन्द्र भट्टले मेलामा सहज आवतजावतका लागि अत्तरिया, मालाखेती, स्याउले र गेटाबाट पाँच वटा बसको व्यवस्था गरिएको बताए ।
गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्ध कुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ । २०७२ सालमा गोदावरीमा माघीको दिनदेखि एक महिनासम्म कुम्भ मेला लागेको थियो ।
